विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित

एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनमा आइतबार भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।

केनिङटन ओभलमा भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । स्मिथले ६९ रन जोड्दा वार्नरले ५६ रनको योगदान दिए । एलेक्स ५५ रनमा अविजित रहे ।

यस्तै उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए । भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले ३/३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो।

भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए । यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १९:३२