काठमाडौं महानगरलाई चीनको छेङदु नगरले दियो दुई ब्रुमर

काठमाडौं- धुलो रहित सफा शहर बनाउने अभियानमा जुटेको काठमाडौं महानगर पालिकालाई चीनको छेङदु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । चीनले उपलब्ध गराएको २ करोड ३७ लाख रुपैयाँ बराबरको २ वटा ब्रुमर आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरलाई हस्तान्तरण गरिएको हो । चीनको छेङदु नगरपालिकाका प्रतिनिधिले काठमाडौं महानगर पालिकालाई ब्रुमरको चाबी हस्तान्तरण गरेको थियो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमरको औपचारिक उद्घाटन गरे । छेङदुले महानगरलाई दिएका ब्रुमर युरो ५ माप दण्डका छन् । महानगरको ईन्जिनियरिङ शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार लम्बाई ८.६ मिटर र चौडाई ३.५ मिटरका ब्रुमरामा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् ।

धुलो र पातपतिंगर संकलन गर्न प्रयोग गर्न सकिने यी बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ । सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्नेछ । ९८ किलो मिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

Loading...
प्रकाशित मिति १ असार २०७६, आईतवार १९:०२