साफ महिला च्याम्पियनसिप : श्रीलंकाको पोस्टमा नेपालको ४ गोल, पुग्यो फाइनलमा !

काठमाडौं, चैत ६
आयोजक देश नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले पाहुना टोली श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो ।

मोरङको विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा नेपालले पाहुना टोलीविरुद्ध सुरुबाटै पकड जमाउँदै सहज जित निकाल्यो । नेपालको जितमा अनिता बस्नेत, रेखा पौडेल, सावित्रा भण्डारी र पुनम जर्घामगरले १–१ गोल गरे ।

नेपालका लागि ४२औं मिनेटमा पुनम जर्घामरले पहिलो गोल गरेकी थिइन् । त्यसपछि ७२औं मिनेटमा नेपालका लागि दोस्रो गोल अनिता बस्नेतले गरिन् ।

फेरि खेलको ८१औं मिनेटमा सावित्रा भण्डारीले टोलीका लागि तेस्रो गोल गरिन् । नेपाल त्यत्तिमै अडिएन । उसका लागि खेलको ८६औं मिनेटमा सब्सिच्युट खेलाडी रेखा पौडेलले चौथो गोल गरिन् ।

त्यसपछि खेलको बाँकीमा समयमा थप गोल भएन । र, खेल नेपालले ४–० ले जित्यो । यससँगै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ भने श्रीलंका घर फर्किएको छ ।

अब नेपालले आजै भारत र बंगलादेशबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेता टोलीसँग फाइनलमा उपाधिका लागि लड्ने छ । सो खेल पनि आजै हुँदैछ ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७५, बुधबार ०७:१३