पाँचथर आरुबोटे घटनामा भागेर ज्यान बचाएकी १४ वर्षीया सीता खजुमले आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभइ आफूलाई सुरक्षित गरेकी छन् । अनुहार छोपेर आएका व्यक्तिले पहिला कुटपिट गर्दै आक्रमण गरेका थिए ।
उनले घटना हुन थालेपछि भागेर ज्यान बचाएको बताएकी छन् । झापाको दमकमा उपचाररत उनले भनिन्, भागेर नजिकैको बजुको घरमा गएर लुँके । वंश नै नाश हुने गरी भएको सो हत्यामा सीताले आफ्ना हजुरबा, हजुरआमा, दिदी र अन्य आफन्तलाई गुमाउन पुगिन् तर उनलाई भने भाग्यले बचायो ।
सीता मावलीका हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन् । उनको अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
भाग्ने क्रममा लडेर हातमा चोट लागेकाले उनको हातमा चारवटा टाँका लगाइएको छ । सामान्य अवस्थामा रहेकी सीताले भनिन्, हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातिको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।
आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन्। सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको बताइन् । उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो ।ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो । त्यो बेलामा हातमा अरू केही नदेखेको र आफू भागेर गएपछि अरू के भयो थाहा नभएको उनको भनाइ छ ।
भिडियो