पढ्ने उमेरमा आमा

अछाम /  जनालीकोटकी उर्मिला ताम्राकारले १४ वर्षको उमेरमै ४ वर्षअघि मंगलसैन नगरपालिका ३, बिरालतोलीका सिद्ध विकसँग भागी बिहे गरिन् । अहिले उनी १८ वर्ष पुगिन् । साथमा २ सन्तान छन् । पहिलो सन्तान छोरी जन्माएकी उनले जन्मान्तर २ वर्ष नहुँदै पुन: छोरी जन्माइन् । पछिल्लोपटक जन्मेकी छोरी १ महिना पुगिन्

‘सुत्केरी अवस्थामा खानलाई घरमा अन्न छैन । पति भारतमा छन्,’ उनले भनिन्, ‘सामान्य चिनजान थियो । पछि फोनमा कुरा हुन्थ्यो । ५ कक्षाको परिक्षा नदिएरै भागेर बिहे भयो । अहिले गुजारा चलाउन गाह्रो छ ।’ विवाहपछि विद्यालय भर्ना भए पनि घरायसी कामले पढ्न नसकेको उनी बताउछिन् । ‘अहिले २ छोरी छन् । दोस्रो पनि छोरी भएको भन्दै सासू-ससुरा र आफन्तले गर्ने व्यवहार बदलिएको छ,’ उनले भनिन्, ‘छोरो नजन्मिएसम्म शान्त वातावरणमा बस्न पाइने अवस्था छैन ।’

मंगलसैन नगरपालिका १३ कि शान्ता धामी १९ वर्षकी भइन् । बिहे भएको ३ वर्ष भयो । अहिले उनिसँग १ छोरी छन् । ७ कक्षा पढ्ने बेला नै प्रेम विवाह गरेकि शान्ता फेरि आमा बन्दै छिन् । ‘सानै उमेरमा लहैलहैमा लागेर विवाह भयो । अहिले पछुतो लागेको छ,’ उनले लजाउँदै भनिन्, ‘दोस्रो सन्तान गर्भमा बसेको थाहै भएन । अहिले कमजोर भएको महसुस गर्दै छु ।

उर्मिला र शान्ता जस्तै जिल्लाका धेरै किशोरीले पढ्ने उमेरमै आमा बन्ने गरेको जिल्ला अस्पतालको तथ्यांकले देखाउँछ । आव ०७५/७६ मा जिल्लाभर ७ हजार ३ सय १५ महिलाले गर्भ जाँच गराएको र त्यसमा १ हजार ४ सय ६ महिला २० वर्षमुनिका किशोरी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

प्रोटोकलअनुसार ४ पटक गर्भवती जाँच गर्ने ४ हजार ६ सय १७ गर्भवतीमध्ये ७ सय ५९ जना २० वर्षमुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । आव ०७१/७२ मा ७ हजार ७ सय १ गर्भवतीले जाँच गराएकोमा १ हजार ४ सय १५ २० वर्षमुनिका गर्भवती किशारी थिए ।

त्यसै आव ०७२/७३ मा ७ हजार ६ सय ६९ जनाले गर्भवती जाँच गराएकोमध्ये १ हजार ६ सय ७७ जना २० वर्षमुनिका थिए । चालु आवको वैशाखमा जिल्ला अस्पताल मंगलसैनमा मात्रै २० वर्ष मुनिका २५ किशोरी आमा बनेका छन् ।

१० जनाले गर्भपतन गराएका छन् । सानो उमेरका विवाहमा गर्भधारण गर्दा आमा र शिशुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भए पनि किशोरावस्थामा गर्भधारण गर्नेको संख्या घट्न सकेको छैन । अघिल्लो वर्षभन्दा केहि संख्या घटे पनि बालविबाह गर्नेको संख्या भने घटेको छैन ।

गर्भ जाँच गर्न आउँदा वास्तविक उमेर नबताउने गर्भवती किशोरी पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी ज्ञानु माझीले बताइन् । ‘१६/१७ वर्षका किशोरीहरू वास्तविक उमेर बताउँदैनन् । २० वर्षभन्दा बढि नै भन्छन्,’ उनले भनिन्, ‘आफैं बच्चा उमेरका किशोरीहरू गर्भ जाँच गराउन आउँछन् तर वास्तविक उमेर बताउन चाहदैनन् ।’

वास्तविक उमेर नभन्नेहरू धेरै भएका कारण गर्भवती किशारीको संख्या बढ्न सक्ने उनले बताइन् । बाल विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप प्रताडित हुन पुग्छन् ।

Loading...
प्रकाशित मिति ८ जेष्ठ २०७६, बुधबार १६:०७