हंगेरियन प्रधानमन्त्रीको विवादास्पद घोषणा– धेरै बच्चा जन्माउनेलाई आवीजन कर छुट !

एजेन्सी, फागुन ३
‘देशमा आप्रवासीमाथिको निर्भरता घटाउन र हंगेरीको भविष्य बचाइराख्न’ भन्दै हंगेरियन सरकारले चार वा सोभन्दा बढी सन्तान जन्माउनेलाई आजीवन कर तथा ऋण छुट दिने योजना अघि सारेको छ । दक्षिणपन्थी राष्ट्रवादीहरु विशेष गरी मुस्लिम मुलुकबाट आइरहेका आप्रवासीको विरोध गर्छन् ।

सोमबार प्रधानमन्त्री भिक्टोर ओर्बानले यो योजना सार्वजनिक गरे । योजनाअनुसार, सरकारले युवा जोडीलाई ४२ लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिनेछ । तीन सन्तान हुने जोडीलाई यो ऋण माफ हुनेछ ।

हंगेरीको जनसंख्यामा हरेक वर्ष ३२ हजारले कमी आइरहेको छ, र यहाँका महिलाको औसत सन्तान संंख्या युरोपेली संघको औसतभन्दा कम छ ।

‘जनसंख्या ठीक ठाँउमा आउनका लागि जति बच्चा मर्छन्, त्यति नै बच्चा जन्मिन आवश्यक छ,’ पश्चिमा देशहरुले आप्रवासीलाई जनसंख्या कमीको समाधानका रुपमा हेरिरहेको भन्दै प्रधानमन्त्री ओर्बानले भने, ‘हंगेरीका जनता जनसंख्याका मामलामा फरक तरिकाले सोच्छन् । हामीलाई मान्छेको संख्याभन्दा पनि नागरिकको आवश्यकता छ ।’

घोषणापछि प्रधानमन्त्री ओर्बानले ‘हंगेरी जिन्दावाद, हंगेरीका नागरिक जिन्दावाद’ भन्दै नारासमेत लगाए ।

प्रधानमन्त्री ओर्बानले राजधानी बुडापेस्टमा यो नीतिको घोषणा गर्दा त्यहाँ उपस्थित जमातले होहल्ला गर्दै नीतिको विरोध गरेको थियो ।

प्रधानमन्त्री कार्यालयअघि जम्मा भएका करिब २ हजार प्रदर्शनकारीले उक्त योजना फिर्ता लिन माग गरेका छन् । राजधानीका अन्य स्थानमा पनि प्रधानमन्त्रीले घोषणा गरेको योजनाको विरोध भइरहेको छ ।

तर, धेरैले प्रधानमन्त्रीको यस कदमको स्वागत पनि गरेका छन् । विरोधसँगै उनको प्रशंसा पनि भइरहेको छ ।  हंगेरीमा प्रतिमहिला औसतमा १.४५ बच्चा छन्, जुन युरोपेली संघको औसत १.५८ भन्दा निकै कम हो ।

युरोपेली संघमा प्रजननदरका मामलामा फ्रान्स सबैभन्दा अघि छ । त्यहाँ औसतमा एक महिलाको १.९६ बच्चा छन् । सबैभन्दा कम प्रजननदर भएको युरोपियन मुलुक स्पेनमा एक महिलाको औसतमा १.३३ बच्चा छन् ।

संसारमा सबैभन्दा धेरै प्रजननदर भएको मुलुक पश्चिम अफ्रिकी राष्ट्र नाइजेरिया हो । यहाँ प्रतिमहिला ७.२४ बच्चा छन् ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १३:००