कलंकी-महाराजगञ्ज सडक ८ लेनको बनाउन १ अर्ब ८१ करोड

काठमाडौं – सरकारले कलंकी- बालाजु- महाराजगञ्ज सडक खण्ड विस्तारको लागि बजेट विनियोजन गरेको छ। यो आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ। सरकार अहिले यो खण्डको चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ। सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न चीनले डिजाइन दिएको छैन। अहिले विस्तार भइरहेको कलकी-कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा बनाइ नसकिँदै सुधारका लागि भत्काउनुपर्ने अवस्था आएको छ।

अब चक्रपथको बाँकी खण्डको डिजाइन भने कलंकी-कोटेश्वरको भन्दा वैज्ञानिक हुने विभागको भनाइ छ। बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ। चक्रपथ सडक विस्तार आयोजनाले एक वर्षअघि नै कलंकी- महाराजगञ्ज सडक सीमामा पर्ने सबै संरचना हटाउन भन्दै सूचना जारी गरेको थियो। सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐन अनसार आफैंले हटाउने र त्यसबापत लागेको खर्च असुल्ने चेतावनी दिइसकेको छ। कुल २७ दशमलव दुई किलोमिटरमध्ये कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ।

चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो । कलंकी-महाराजगञ्ज खण्ड विस्तारको लागत पनि निक्र्योल भइसकेको छैन । अब केही समयभित्रै विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने भएको छ ।चक्रपथ कै बाँकी महाराजगञ्ज-कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तार सम्बन्धी सहमति भएको थियो। चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमे कीले चासो लिँदै आएको छ। कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वर सम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन। पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ।

 

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ०१:१३