युएईसँग नयाँ श्रम सम्झौता हुँदै, अब नेपाली कामदार सित्तैमा युएई जान पाउने

काठमाण्डौ – नेपाल र यूएईबीच आउँदो शुक्रबार श्रम समझदारी (एमओयू) हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  गोकर्ण  विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको हो ।

स्वीट्जरल्याण्डको जेनेभामा भैरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहको ‘साइडलाइन’ कार्यक्रममा सम्झौता हुने तय भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि मंगलबारको समारोहमा अफ्रिकी देश मरिसससँग श्रम समझदारी भैसकेको छ ।

यूएईसँग हुने समझदारीका विशेषता

नेपालले यूएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गर्न लागेको हो । नेपालको चौथो ठूलो श्रम गन्तव्यका रुपमा रहेको यूएईसँग नेपालले पहिलोपटक सन् २००७ मा श्रम समझदारी गरेको थियो ।अब हुने समझदारीको मस्यौदामा यूएई जाँदा लाग्ने लागत रोजगारदाताले नै व्यहोर्न पर्ने उल्लेख गरिएको छ ।

कामदारको भर्ना प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउनका लागि दुई देशबीच समझदारी भएपछि अब नेपाली कामदारले भर्ना प्रक्रियासँग सम्बन्धित सबै रकम रोजगारदाताले नै व्यहोर्ने श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले बताउनुभयो ।

मस्यौदाले नेपाली कामदामाथि कुनै पनि विभेद गर्न नपाइने प्रावधानलाई समेटेको छ । ‘यूएईको कानूनले त्यहाँका नागरिकलाई राज्यले विशेष सेवासुविधा दिन सक्ने व्यवस्था गरेका कारण नेपाली कामदारले यूएईका नागरिकसरह सेवासुविधा त प्राप्त गर्दैनन्,’ सहसचिव डा. घिमिरेले भन्नुभयो, ‘तर यूएईमा श्रम गर्ने विदेशी श्रमिकलाई कुनै पनि विभेद नगरिने मस्यौदामा उल्लेख गरिएको छ ।’ समझदारी पछि अब यूएईमा काम गर्ने नेपाली कामदार र अन्य देशको कामदारको सेवा सुविधामा कुनै पनि विभेद हुँदैन ।

त्यसैगरी मस्यौदाले महिला श्रमिकको कल्याण र सुरक्षामा पनि विशेष जोड दिएको छ । कामदार गन्तव्य देश पुगेलगत्तै राहदानीलगायत व्यक्तिगत कागजपत्र रोजगारदाताले राख्ने प्रवृत्तिलाई मस्यौदाले रोकेको छ ।

‘मस्यौदामा राहदानीलगायत व्यक्तिगत कागजपत्र कामदार स्वयंले नै राख्न पाउने प्रष्ट व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘श्रमिकले प्राप्त गर्ने सेवा सुविधा पनि तोकिएको समयभित्र उपलब्ध गराउनुपर्ने विषयलाई समावेश गरिएको छ ।’

 

Loading...
प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १८:४१