साता व्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

एक साता लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । कतार एयरवेजको विमानबाट उनी आज बिहान काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री बिहान १०:३० बजे काठमाडौं उत्रिने भनिए पनि आधा घण्टाअघि नै विमानस्थलमा उत्रिएका हुन्। २५ जेठमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा निस्किएका थिए।

उनले २६ जेठमा स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी सभालाई सम्बोधन गरेका थिए। त्यस पछि बेलायत गएका उनले बेलायती प्रधानमन्त्री थेरेसा मे र राजकुमार ह्यारीसँग भेटवार्ता गरेका थिए ।तीन दिन बेलायत बसेका प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स पुगेका थिए । जंगबहादुरपछि बेलायतबाट रेल चढेर फ्रान्स जाने ओली दोस्रो नेपाली प्रधानमन्त्री हुन् ।प्रधानमन्त्री ओलीको यो नवौं विदेश भ्रमण हो ।

दोस्रोपटक प्रधानमन्त्री चुनिएपछि ओलीले भारतबाट आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्री स्तरमा भ्रमण भएको हो ।यस्तै, प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

Loading...
प्रकाशित मिति १ असार २०७६, आईतवार १७:५१