अझै भेटिएन कर्णालीमा बेपत्ता जिप

हुम्ला — कर्णाली नदीमा जिपसँगै बेपत्ता भएका व्यक्ति नभेटिएपछि गोताखोर टोली फर्किएको छ । गत मंगलबार खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौना र कैल्यवालुको बीचमा जिप सडकदेखि २० मिटर तल नदी खसेको थियो ।

घटनाको भोलिपल्ट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको गोताखोर टोली जिप र बेपत्ताको खोजीको लागि हुम्ला आएको थियो। तीन दिनसम्म लगातार खोज्दा पनि नभेटिएपछि टोली फर्किएको प्रमुख जिल्ला अधिकार धोलकराज ढकालले बताए। नदीमा पानीको बहाव बढ्नु, पानी धमिलो हुनु, चिसो बढ्नु जस्ता कारणले गोताखोरको लागि खोजीकार्य जटिल बनेको उनले जानकारी दिए।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एकमात्र जिल्ला हुम्लामा खार्पुनाथ यातायात प्रालिले हेलिकोप्टरबाट चारवटा जिप लगेर सेवा दिएको थियो। लु१ज ७१६६ नम्बरको उक्त जिप खसेपछि अब खार्पुनाथसँग तीनवटा जिप बाँकी छन्। प्रालिका अध्यक्ष सरोज रावतले दुर्घटनास्थल खासै अप्ठेरो नभए पनि कसरी खस्यो भन्दै आश्चर्य व्यक्त गरे।

Loading...
प्रकाशित मिति ७ असार २०७६, शनिबार १५:१९