पहिरोले जोखिम बनायो चाँगुनारायण मन्दिर

भक्तपुर : विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर पहिरोको जोखिममा परेको छ। मन्दिरको उत्तर–पश्चिमी कुनामा पहिरो गएको छ। पहिरो नियन्त्रणमा नलागे मन्दिरै प्रभावित हुने स्थानीय बताउँछन्।

भूकम्प र त्यसपछिको परकम्पले मन्दिरलाई क्षति पु¥याएको थियो। पुरातŒव विभागले गत वर्ष मात्रै जीर्णोद्धार सकाएको थियो। मन्दिरको चौघेरा सत्तल पुनर्निर्माण अघि बढाइएको छ। यसै क्रममा पहिरो गएको विभागअन्तर्गतकै स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख मोहनसिंह लामाले बताए। उनका अनुसार पहिरो नियन्त्रणका लागि काठ र बाँसका टेका दिएर जस्ताले बारिएको छ। ‘तत्काललाई काठ तथा बाँसका टेका गाडेर जस्ताले बारेका छौं’, उनले भने, ‘पहिरो पूर्णरूपमा रोक्न टेवा पर्खाल लगाउनुपर्छ।’

उनका अनुसार विभागमा बजेट माग गरिएको छ। विभागका प्रतिनिधि आएर पहिरो गएको क्षेत्रको स्थलगत अनुगमन गरेको उनले सुनाए। ‘सोहीअनुसार बजेट प्राप्त भइसकेको छ’, उनले भने, ‘चौघेरा सत्तल पुनर्निर्माण गर्ने ठेकेदारमार्फत पहिरो नियन्त्रण गराउने कार्यादेशसमेत पाएका छौं।’

सानु सुवाल÷लुम्बिनी÷पवन जेभीले १६ करोड ७६ लाख रुपैयाँमा चौघेरा सत्तल पुनर्निर्माणको ठेक्का पाएको छ। ठेकेदारले मन्दिरको उत्तर–पश्चिमी क्षेत्रस्थित पुजारी घरको जगसम्म भत्काएका छन्। तर, त्यही कुनामा पहिरो गएपछि पुनर्निर्माण रोकिएको छ। पहिरो रोकथामबिना चौघेरा सत्तल पुनर्निर्माण गर्न नसकिने ठेकेदार परशुराम वैद्यले बताए।

२४ करोड लागत इस्टिमेट रहेको योजनाअन्तर्गत पश्चिमी भागस्थित पुजारी घर, उत्तरी र पूर्वी भागको पुनर्निर्माण हुनेछ। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका अनुसार दक्षिणी भाग भने पुनर्निर्माण हुनेछैन। जहाँ रहेको अमात्य सत्तल पुनर्निर्माण सम्पन्न भइसकेको छ। उक्त सत्तल सम्पदा र वातावरण संरक्षण फाउन्डेसनले पुनर्निर्माण गरेको हो। फाउन्डेसनले नै चौघेरा सत्तल पुनर्निर्माण गर्ने जिम्मा लिएको थियो। तर, कामको सुरसार नगरेपछि विभागले पुनर्निर्माणको ठेक्का दिएको हो।

फाउन्डेसनले मन्दिरकै जीर्णोद्धार गर्ने इच्छा व्यक्त गरेको थियो। तर, विभागले स्वीकृति दिएन। उक्त संस्थाले भूकम्पले ढलेका किलेश्वर महादेव, लक्ष्मीनारायण, वधेश्वर महादेव र विश्वरूपलगायत मन्दिरसमेत बनाउने जिम्मा लिएको थियो। तर, किलेश्वर महादेव मन्दिर मात्रै पुनर्निर्माण भएको छ। आधा दर्जनभन्दा बढी मन्दिरको काम सकिएको छैन। ती मन्दिरका देवदेवी आकाशमुनि छन्। भूकम्पअघि ढलेका माधवनारायण मन्दिर, वैकुण्ठ विष्णु मन्दिर, सरस्वती मन्दिरले उठ्ने पालो कुरिरहेका छन्।

चाँगुनारायण मन्दिर करिब २ हजार ३ सय वर्षअघि लिच्छवि राजा हरिदत्त बर्माको समयमा निर्माण भएको इतिहास छ। त्यसपछि लिच्छवि राजा मानदेवले विसं. ५२१ मा मन्दिर जीर्णोद्धारसँगै मन्दिर अगाडि गरुडको प्रस्तर मूर्तिलगायत शिलालेख राख्न लगाएको पाइन्छ। उक्त शिलापत्रमा संस्कृत भाषामा लिच्छवि अक्षर प्रयोग गरिएको छ। यो नै नेपालको इतिहासको पहिलो लिखित प्रमाण हो। यसकै आधारमा नेपालको इतिहासको अध्ययन भइरहेको छ। मौजुदा मन्दिर भने ३ सय २३ वर्षअघि मल्ल राजा भूपालेन्द्र मल्लले जीर्णोद्धार गराएका थिए। उनले मन्दिरको मुख्य ढोकासामु आफ्नो र रानी भुवनलक्ष्मी मल्लको ढलोटको मूर्तिसमेत राख्न लगाएका थिए। जुन मूर्ति यथास्थानमै छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको युनेस्कोले सन् १९६९ मा यो मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो।

Loading...
प्रकाशित मिति २१ असार २०७६, शनिबार ०३:३३