वर्षासँगै बाढीपहिरोका कारणले २१ को मृ**त्यु १० घाइते  १० बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै बाढीपहिरोका कारण शुक्रबार २१ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार १० जना घाइते भएका छन्। शनिवार बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले बाढी पहिरोमा परी अहिलेसम्ममा १० जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ। यो अवधिमा ५० जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति, स्रोत साधन परिचालन गरी उद्धार जारी राखेको प्रहरीले जनाएको छ। त्यस्तै अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बर्दिबासको भप्सी पुल भत्किएको छ । बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवागमन अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल भत्किएपछि बर्दिवास नगरपालिका–५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन् । रातिदेखि नै यात्रु सडकमा अलपत्र छन् । कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् । आज बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले बताए ।

बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ । पुल भत्किँदा पूर्वपश्चिम राजमार्गमा चल्ने सयौं सवारी साधन जाम भएका छन् । यात्रु अलपत्र परेका छन् । इलाम जाँदै गरेका दीपक खनालका अनुसार गाडी अघि बढ्न सक्ने अवस्था छैन । अहिले पनि गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको र धेरै यात्रु अलपत्र पर्ने अवस्था आएको उनले बताए । राति १२ बजेर १० मिनेटको समयमा पुल भत्किएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ । अहिले नदीमा पानीको बहाव बढ्नुका साथै वरपर जलमग्न भएकाले डाइभर्सन गर्न सक्ने अवस्था पनि नरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०९:५२