भक्तपुर १ (क) बाट बिजयी भएका नेपाली कांग्रेसका नवनिर्वाचित प्रदेश सांसद कृष्णलाल भँडेल यसो भन्छन-

काठमान्डौ , भक्तपुर क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका उमेदवार कृष्णलाल भँडेल २२४३ मत अन्तरले निर्वाचित भएका छन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उमेदवार देवीप्रसाद (डीपी) ढकाललाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सो क्षेत्रमा ०७४ सालमा सम्पन्न निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए । अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २०६ मत ल्याएका छन्।

०७४ मा हारेको कांग्रेसले अहिले जित हात पारे पछी भँडेल भन्छन -मैले लामो समय राजनीति र समाजसेवामा बिताएँ । भक्तपुरका जनताको पक्षमा अनवरत लागिरहेको थिएँ । आज भक्तपुरका जनताले त्यसको मूल्यांकन गर्नुभएको छ । मैले आफ्नो विजयलाई मेरो क्षेत्रका इमान्दार, लोकतन्त्रप्रेमी, विकासप्रेमी जनताको जितका रुपमा लिएको छु । जनताले विश्वास गरेर मलाई निर्वाचित गर्नुभएको छ । म आम मतदाता र मेरो क्षेत्रका सम्पूर्ण जनतालाई त्यसका लागि धन्यवाद दिन चाहन्छु । मैले हिजो जनतासँगै हिँडेको, उहाँहरुको सुखदुःखमा साथ दिएको कारणले जितेँ भन्ने लाग्छ ।

अघिल्लो निर्वाचनमा निक्कै ठूला ठूला सपना देखाएर कम्युनिष्ट पार्टी सरकारमा पुग्यो । तर, विकास निर्माणले गति लिन सकेन । शान्ति सुरक्षा कमजोर हुनपुग्यो । भ्रष्टाचार र कुशासनको मारमा जनता परे । त्यसबाट जनता सरकारसँग निराश थिए ।आफ्नै कारण बाट सरकार अलोकप्रिय हुन पुग्दा ती रिसाएका जनता पनि कांग्रेसतर्फ आकर्षित भएको पाएँ । सरकारको अलोकप्रियताले पनि केही फाइदा पुग्यो ।उहाँहरुले हामीसँगै रहेको, हाम्रो सुखदुःखमा साथ दिने व्यक्तिका रुपमा माया दिनुभयो । कांग्रेसका साथीहरु पनि सक्रियताका साथ एक ढिक्का भएर लाग्नुभयो ।

Loading...
प्रकाशित मिति १५ मंसिर २०७६, आईतवार ०६:२०