पैसा नतिर्ने चिनी मिलका सञ्चालकलाई सम्पर्कमा लिन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन।

काठमाडौं। उखु किसानको बक्यौता भुक्तानी नगरेर फरार रहेका चिनी मिल सञ्चालकलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृहले प्रहरीलाई निर्देशन दिएको हो।

सम्पर्कमा नआएका चिनी मिल सञ्चालकलाई सम्पर्कमा ल्याएर बक्यौता भुक्तानीको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिइएको गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले लोकान्तरलाई बताए। गृहको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूलाई तत्कालै निर्देशन पठाएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए।

सर्लाही जिल्लाका किसान उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्। आइतवार साँझ उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसालले उद्योगीसँग किसानको भुक्तानीका सम्बन्धमा छलफल गरेका थिए।

उद्योगीहरूले सरकारले दिनुपर्ने अनुदान नदिएको, उखुको मूल्य आफूखुशी बढाएकाले आफ्ना माग पूरा नहुँदासम्म भुक्तानी दिन नसकिने अडान राखेका थिए। उद्योगीले भुक्तानी दिन आनाकानी गरेपछि सरकार कानूनी कारवाहीका लागि अगाडि बढेको हो। लोकान्तरबाट

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०९:१४