नेपालको ‘जानकी रेल’ चेन्नाईबाट हिडेको छ, केही दिनमा आइपुग्ने।

काठमाडौं। नेपालका लागि चेन्नाईबाट जानकी रेल हिडेको छ। जनकपुर जयनगर रूटका लागि निर्मित रेल सेट नेपालका लागि चेन्नाईबाट हिडेको हो। बुधबार भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले एक सेट ट्रेन चेन्नाईस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट जनकपुर पठाएको छ।

रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली रेल जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्। पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ।

चेन्नाईबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्ने छ। नेपाली झण्डाको रंग लगाएको ‘जानकी रेलको इञ्जिन र डिब्बा आइपुग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी भइरहेको छ।

ट्रेन सेट आइपुगेपछि नियमित सञ्चालनका लागि हामी आवश्यक व्यवस्थापन गरिरहेका छौं, विभागका महानिर्देशक बलराम मिश्रले भने। विभागका अनुसार अहिले रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फाष्ट ट्रयाक गर्न लागिएको छ। रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागिएको हो।

करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रीपरिषदबाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने भारतबाट ल्याइने छ। बाँकी कर्मचारी यहीँ भर्ना गरिने छ। नेपाली प्राविधिकहरू रेल चलाउन सक्षम भएपछि भारतीय प्राविधिकलाई फिर्ता गरिदिने बताइएको छ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०७:५८