कपुरकोट १ उनवाङमा सोलर पम्पिङ खानेपानी । भिडियो सहित

सल्यान। खानेपानीको चरम अभाव झेलीरहेको कपुरकोट १ उनवाङमा ७४ घरपरिवारलाई लिफ्ट प्रणाली मार्फत खानेपानीको सुविधा पाएपछि खुसी भएका छन्। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङमा सोलार पम्पिङ खानेपानी योजना सञ्चालन भएपछि उनीहरु खुसी भएका हुन्। अहिले सम्म खानेपानीको जोहो गर्दैमा समय वितेको गुनासो गर्ने उनवाङ निवासी पानसरी दमाई, वस्ती भन्दा धेरै तलको पानी पम्प द्वारा माथि तानेर खान पाईने भएपछि निकै हर्षित भएको बताएकी छिन्।

काददुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालले आयोजना सञ्चालन गरेको हो। जसमा ७४ घरपरिवारले प्रति पारिवार ७५ दिन सम्म जनश्रमदान गरेका छन्। खानेपानीको निकै समस्या झेलेका उपभोक्ताहरुले स्वतस्फूर्त रुपमा ३८ लाख ८५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए। उनका अनुसार हरेक घरमा धारा निर्माण गरिने छ। सोलार पम्पिङ खानेपानी योजनाको सफल परीक्षण भइसक्यो, एक घर एक धारा निर्माण गरिएको छ, वडाअध्यक्ष खड्काले भने।

हाल सम्म ४५ घरमा धारा निर्माण कार्य सम्पन्न भइसकेको छ। योजनाको अन्य काम पनि सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष लिल बहादुर रावतले बताएका छन्। ५ सय ४ मिटर तल धारापानीबाट उकालो बस्ती ‘माथि’ बयलडाँडामा लिफ्ट प्रणालीबाट पानी तानिएको उनले बताए। मुहानमा १२ हजार लिटर क्षमताको पम्प हाउस निर्माण गरिएको छ, भने’ विचमा ८ हजार लिटर क्षमता र माथि बयलडाँडामा १४ हजार लिटर क्षमताको रिजर्व टंकी निर्माण गरिएको छ।

यस अघि गाउँलेहरुलाई आधा घण्टा देखी एक घण्टा सम्म समय लगाएर गाग्रीमा ठाडै उकालीमा पानी बोक्नुपर्ने बाध्यता थियो। स्थानीय डिलसरी रावतले अव आफु र आफु पछाडीका सन्तानले खानेपानीका लागी दुख ब्यहोर्न नपर्ने भयो’ भन्दै खुसी ब्यक्त गरिन्। उनले भनिन्, ‘घर आँगनमा धारा निर्माण भएको छ, घर अगाडीकै धारामा पानी आउने भएपछि हामी दंग छौँ। यस अघि पोखरीमा जम्मा भएको पानी पिउने गरेको उनले सुनाईन्।

कादुरी एग्रीकल्चर एशोशियसन ब्रिटिस गोर्खा नेपालको सहयोग र स्थानीयको जनश्रमदानबाट उनवाङमा लिफ्ट प्रणालीबाट वृहत खानेपानी योजना सञ्चालन भएपछि स्थानीयको पानी पिउने सपना पुरा भएको हो। ८ सेकेन्डमा १० लिटर पानी रिजर्व टंकीमा जम्मा हुने गरेको वडा नं १ का वडाध्यक्ष खड्काले जनाए। उनले गाउँपालिकाको सहयोगमा आफ्नो वडाको लामपोखरा र सारपानीमा पनि लिफ्ट प्रणालीबाट तलको पानी माथि रहेको बस्तीमा तानिएको बताएका छन्। कभर खबरबाट

भिडियो हेर्नुहोस्।

 

Loading...
प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०४:२६