कोरोनासँग लड्न नेपाली चलचित्रकर्मीहरुको सहयोग, कसले कती गरे ? (भिडियोसहित)

काठमाडौं ।विश्वभर कोभिड १९ को महामारी फैलिएसँगै यसको नियन्त्रणको लागी र यसबाट पीडित विपन्न समुदायहरुको लागी नेपाली चलचित्र क्षेत्रबाट पनि सहयोग रकम जुट्न थालेको छ ।

कोरोना संक्रमणसँग लड्न सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने कलाकार हुन् पल शाह । उनले दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने चलचित्र प्राविधिकहरुको राहतका लागि ५ लाख १ हजार सहयोग गरेका थिए ।

चलचित्र निर्माता तथा छायांकार गौतम धिमालले पनि चलचित्र प्राविधिकहरुको लागी २ लाख २५ हजार बराबरको राहतको जिम्मा लिएका छन् । उनको सहयोगबारे चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक पेजमार्फत खुलाएका छन् ।

निर्माता तथा निर्देशक श्री कृष्ण चापागाईंले चलचित्र प्राविधिकहरुको राहतका लागी १ हजार डलरसहयोग गरेका छन् । उनले उक्त रकम बराबरको राहत प्राविधिकहरु समक्ष पुर्याउन प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग सहकार्य गरेका छन् ।

हाँस्यकलाकार तथा निर्माता दीपकराज गिरीले पनि आफ्नो चलचित्र छक्कापन्जाको टिमसँग मिलेर रकम सहयोग गरेका छन् । उनले चलचित्र प्राविधिकहरुका लागि १ लाख २० हजार बराबरको खाद्यसामग्री चलचित्र प्राविधिक संघलाई बुझाएका हुन् । यससँगै हाल उनी अन्य फिल्मकर्मीहरुको सहयोग रकम संकलन गर्ने कार्यमा पनि सक्रिय रुपमा लागेका छन् ।

कलाकारहरुमा सबैभन्दा पहिले सहयोग रकम घोषणा गर्ने अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले कोरोना संक्रमणसँग बच्न र यसको रोकथाम गर्न नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैँयाँ सहयोग गरेकी थिईन् । यससँगै उनी लकडाउनमा घरबाहिर भोकै परेका जनावरहरुलाई खाना खुवाउने अभियानमा पनि सक्रिय रुपमा लागिरहेकी छिन् ।

अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान अभिनेता आयुष्मान देशराज जोशीले पनि रकम सहयोग गरेका छन् । लकडाउनको समयमा सबैले मानव समस्या समाधान गर्न सहयोग गरिरहँदा प्रियंका र आयुष्मानले भने घरबाहिर भोकै रहेका जनावरहरुको खानाको लागि रकम सहयोग गरेका हुन् । उनीहरुले आफ्नो स्वामित्वमा रहेको एनजीओ ‘आयांका फाउन्डेशन’ मार्फत ‘एनिमल नेपाल’ नामक संस्थालाई १ लाख हस्तान्तरण गरेका थिए ।

अभिनेत्री वर्षा राउतले पनि चलचित्र प्राविधिकहरुका लागि ५१ हजार बराबरको खाद्य सामग्री वितरण गरेकी छिन् । निर्माता अर्जुन कुमारले पनि कोरोनासँग लड्न प्रधानमन्त्री राहत कोषमा ५० हजार रकम सहयोग गरेका छन् । कलाकार कृष्ण मल्लले प्राविधिकहरुका लागी ३० हजार रकम सहयोग गरेको जानकारी गराएका दिए । कलाकार पुष्कर राउतले पनि प्राविधिकहरुको सहयोगका लागि १५ हजार रुपैँया बराबरको राहत सहयोग गरेका छन् ।

यसैगरी फिल्मकर्मीहरु केकी अधिकारी , ऋचा शर्मा , नीता ढुंगाना, साकार पन्त, स्वस्तिमा खड्का, रमेश उप्रेती, अनुरागमान सिँह कुवर , गौरव पहारी, अनुप भट्टराइ, लक्ष्मण सुबेदी लगायत पनि प्राविधिकका लागी सहयोग गर्न सम्पर्कमा आएको बुझिएको छ ।

Loading...
प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०३:५०