विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्नुहोस्

काठमाण्डौ / खाडीका देश र मलेसियामा तपाईँलाई कोरोना भाइरसका कारण खान र बस्नै समस्या भएको छ ? अथवा भिसा, पासपोर्ट वा अन्य केही विषयमा झण्झट खेपिरहनुभएको छ ? वा लकडाउन खुलेपछि घर कसरी फर्कन भनेर दोधारमा हुनुहुन्छ ?

खाडीका देश र मलेसियामा कार्यरत श्रमिकलाई परेका यस्ता समस्या समाधानमा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग र समन्वय गर्ने भएको छ। खान बस्नकै लागि समस्या भएमा पनि खाद्यान्न र बासस्थानको समेत व्यवस्था गरिरहेकाले यी देशमा जुनसुकै समस्या परेको भए पनि सम्पर्क गर्न पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले अनुरोध गर्नुभयो ।

यसरी राख्न सकिन्छ समस्या

कोरोना भाइरसका कारण खाडीका देश र मलेसियामा समस्यामा पर्ने श्रमिकका समस्या सुन्नका लागि पीएनसीसीले हटलाइन नम्बरको व्यवस्था गरेको छ । आफूलाई परेको समस्या

९८५११७४९९९ नम्बमा सिधा सम्पर्क गर्न सकिन्छ । यो नम्बरमा ह्वाट्याप र भाइबर पनि उपलब्ध भएकाले आफ्नो समस्या यी माध्यमबाट पनि राख्न सकिन्छ । पीएनसीसीको फेसबुक पेजमार्फत पनि आफ्नो गुनासो राख्न सकिन्छ । साथै आफ्ना समस्या ०१–५७०६१०२, ५७०५३५४, ५७०५४०२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

साथै, अनलाइनमार्फत पनि आफ्नो समस्या र विवरण भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनमार्फत विवरण भर्न नजानेमा वा पहुँच नभएमा फोन गरेर वा आफ्नो समस्या कागजमा लेखेर फोटो खिचेर अप्लोडसमेत गर्न सकिने अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँका अनुसार, साउदी, कतार र मलेसियामा रहेका श्रमिकको समस्या कार्यलय समय अवधिमा एक दिनभित्रै सम्बोधन हुनेछ भने अरु देशको हकमा भने एक दुई दिन लाग्न सक्नेछ ।

‘हाम्रो प्राथमिकता खाडीका देश र मलेसियामा समस्यामा पर्ने नेपाली दाजुभाइ दिदीबहिनीका समस्यालाई जतिसक्दो छिटो सम्बोधन गर्ने नै हो,’ अध्यक्ष कार्कीले भन्नुभयो,‘हामीले खाद्यन्न र बासस्थानको समस्या हुनेलाई खान र बस्नकोसमेत व्यवस्था गरिरहेका छौं ।’

लकडाउन र अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै नेपाल फर्कन चाहनेका लागि पनि सहजिकरण गर्न पीएनसीसीले योजना बनाइरहेकाले घर फर्कने योजना भएकालेसमेत फारम भरे स्वदेश फर्कनेबेला सहजीकरण गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँका अनुसार, यो अप्ठेरो परिस्थितीमा पीएनसीसीले कानुनी सहायत, परामर्श, कन्सुलर सेवा र नेपाल फिर्तीमा समेत सहयोग र सहजिकरण गर्ने छ ।

( उज्यालो अनलाइन ) बाट

 

 

Loading...
प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार ०४:१४