योहोन्नाको लक्की लकडाउन : चारघण्टामै बनाए अण्डा कोरल्ने मेसिन(एग इन्क्यूवेटर)

योहोन्नाको लक्की लकडाउन : चारघण्टामै बनाए अण्डा कोरल्ने मेसिन(एग इन्क्यूवेटर)

गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले छेपेटारका एक युवाले अण्डा कोरल्ने मेसिन बनाएको बारे फेसबुकबाट सचित्र एउटा जानकारी जारी गरे । ती युवालाई भेटुँ लाग्यो ।

बिना जानकारी करिब तीन बजेतिर उनको घरमा पुग्दा उनी भर्खरै मेसिनले कोरलेका चल्ला खेलाउँदै थिए । कनिका खुवाउँदै थिए ।
परिचयपछि कुराकानी सुरु भयो ।

२३ बर्षका योहन्ना तामाङ पहिले पनि उत्तिसारो गाउँघर डुलिहिड्दैनथे । घरायसी कामबाट फुर्सद मिलेपछि बिभिन्न आविस्कारका कुराहरु गुगल र युटुवमा हेर्ने गर्थे । रिमोटबाट चल्ने गाडी, इलेक्ट्रिक मोटर, पानीजहाज, रिमोटबाटै उँड्ने चरो बनाउँथे । जिल्ला स्तरको विज्ञान सामग्री प्रदर्शनीमा रिमोटकन्ट्रोलबाट चल्ने पानी जहाज प्रदर्शन गरेर प्रथम पुरस्कार जितेका थिए ।

लकडाउनले झन् उनलाई घरभित्रै भुल्ने बनाइदियो ।

खोरमा चारवटा लोकल कुखुरा थिए । ५० वटा अण्डाहरु थिए । सबै खाएरै सक्ने चलन थियो । एउटा साधारण लहड चल्यो र चल्ला कोरल्ने तापक्रम कति चाहिने रहेछ भनेर गुगलमा खोजे । ९९.७ डिग्री रहेछ । क्लिनिकल थर्मोमिटर किनेर ल्याए र ओथारो बसेको कुखुरामा नापजाँच गरे । सही रहेछ । तापक्रमको र ६५ देखि ८५ सम्मको आर्द्रता मिलायो भने चल्ला निकाल्न सकिँदो रहेछ भन्ने निश्कर्षमा पुगे । प्लाई, प्लास्टिक र सिसाको प्रयोग गरेर एउटा बाकस तयार गरे । त्यहाँ तापका लागि सय वाटको बत्तीको जोडे । तापक्रम नियन्त्रण गर्ने थर्मोस्टेट जोडे । आद्र्रताका लागि पानी राखे । आद्र्रता मिलाउनका लागि ह्युमिडिफाइड पाइएन । बिकल्पमा सामान्य नाइक्रोम तार प्रयोग गरे । यति सब बनाउन उनलाई जम्मा चार घण्टा लाग्यो ।

‘सुरुमा बाकसमा चारवटा अण्डा राखेँ । आमाले चल्ला दिन मान्दै मान्नु भएको थिएन । तर मैले चल्ला निकाल्ने ग्यारेण्टी गरेपछि आमाले एउटा मात्रै चल्ला निकाल्न सक्यौ भने म तिमीलाई मान्छु भन्नु भयो । बेलाबेलामा बत्ती बालेर हेर्दा अण्डाभित्र चलेको देखिन्थ्यो । रमाइलो लाग्दै गयो । अनि अण्डा थप्दै गएँ । तापक्रम मिलेको छ कि छैन भनेर राती पनि उठेर हेर्ने गर्थेँ । पाँच मिनेट मात्रै तापक्रम बढिभयो भने सबै भ्रुण मर्न सक्थ्यो । बरु पाँच छ घण्टा तापक्रम कम भए बिग्रदैन । त्यसैले राती पनि उठ्दै हेर्दै गर्थेँ’ उनले भने, ‘अण्डा थप्दै गएँ, थप्दै गएँ । ५० वटा अण्डा राखेँ । तीनहप्तापछि ठ्याक्कै ४० वटा चल्ला निस्क्यो ।’

योहन्ना अहिले गोरखा क्याम्पसमा विज्ञान शिक्षा बिषय(चौथो बर्षमा) पढ्दैछन् । स्थानीय तारा माविबाट १० कक्षा उतीर्ण गरेपछि उनले लक्ष्मीबजारको महालक्ष्मी माविबाट विज्ञान विषयमा १२ कक्षा पास गरे।

जापान जानका लागि भाषा सिकिसकेका थिए । जापानका लागि आवेदन पनि गरिसकेका थिए । भिसा आउने निश्चितप्राय थियो । लकडाउन नभएको भए यतिबेला त म उँडिसकेको हुन्थेँ’, योहन्नाले भने ।

तर चल्ला निस्किएपछि उनको जापान जाने मन मोडियो । ‘कोरोना भाइरसले गर्दाखेरि के के भयो के के भयो । बाहिर भएका साथीहरुको हालत, बिजोक देखेपछि बाहिर जाने रहर पुग्यो’, उनी भन्छन्, ‘त्यहाँ जाने साथीहरुले पनि यता नआइज भन्छन् । उता जान लाग्ने १५, १६ लाख रुपैयाँ नेपालमै लगानी गर्यो भने आफै नोकर, आफै मालिक भन्छन् । उता अर्काको थुकाइ, कुटाइ पिटाइ, घृणा सबै सहनु पर्छ । बिरामी भएँ भन्न पाइँदैन भन्छन् । त्यो भन्दा त बरु नेपालमै ठिक छ ।’ धेरै कमाउने लोभ नगर्ने आफ्नै परिबारसंग बस्ने उनको रोजाइ छ ।

ठूलो क्षमताको एग इक्यूवेटर बनाएर व्यवसाय गर्ने रहर उनले सुनाए । ‘एकहजार ५६ क्षमताको एग इन्क्यूबेटरलाई एकलाख जति पर्ने रहेछ । मैले बनाएँ भने १० हजार जतिमा बन्छ । अब यही मेसिन बनाएर गाउँलेको कुखुराको चल्ला कोरल्ने काम गर्छु । अस्ति गाउँमा गएको थिएँ । बाहिरबाट चल्ला बेच्न ल्याएका रहेछन् । गाउँमा चल्ला किन्नेको धुइरो थियो । मैले बनाएर बेचेँ भने त कस्सो नकिन्लान् र ?

कुखुरा पालन व्यवसाय पनि गर्ने उनले बताए ।

Loading...
प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०४:२१