तीन तलाबाट खसेर दुबईमा एक नेपाली घाइते

यूएई – गएको चैत २० गते दुबईको डीआइपी काठमाण्डौका विकास केसी तीन तला माथि बार्दलीमा बसेर चिया पिउँदै हुनुहुन्थ्यो। चिया पिएपछि गिलास छेवैमा राख्नुभयो अनि भगवान सम्झिएर प्रार्थना गर्न थाल्नुभयो । एकचित्त भएर भगवान पुकारी रहेका विकास एक्कासी तीन तलामाथिको बार्दलीबाट जमिनमा बजारिनुभयो ।

तीन तलाबाट खस्दा बेहोस् भएका विकासलाई साथीहरुले नजिकैको एनएमसी रोयल अस्पताल पुयाए । विकासको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको छ। नाकमा समेत गहिरो चोट लागेको छ।जबिललाली डीपी वानमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिर्हाम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो। दुवै खुट्टा र मेरुदण्डमा अहिले स्टील राखेर उपचार हुँदैछ। नाकमा लागेको चोट सुधार हुँदैछ।

उपचारमा बीमाको क्षेत्रले नसमेटिएपछि कम्पनीले पनि सम्पर्क गर्न छाडेको छ। विकास दुबईको क्युविजी कम्पनीमा भान्सेको रुपमा कार्यरत हुनुुहुन्छ । कम्पनीले वास्ता गर्न छाडेपछि अस्पतालले थप उपचारका लागि आफन्तलाई खबर गर्न दबाब दियो अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिएपछि विकासले साथीको सहयोगमा नेपाली दूतावास यूएईलाई आफ्नो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

आफ्नो बारेमा जानकारी लिन पुग्नुभएका नेपाली दूतावासको नियोगका उपप्रमुख सागरप्रसाद फुयाँलसँग विकासले भगवानको प्रार्थना गर्दा आफू लडेको बताउनुभएको हो। विकासले भन्नुभयो यो बिरानो ठाउँमा मेरो कोही छैन, म बाँच्न चहान्छु,मलाई बचाइदिनुस्।

दूतावासले विकासको उपचारमा समन्वय गर्न श्रम काउन्सिलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलमलाई जिम्मेवारी दिएको थियो। दूतावासले यहाँको स्थानीय निकायमार्फत उपचार खर्च कम्पनीले गर्नुपर्ने अडान राख्दै अनुरोध गरेपछि अहिले कम्पनीले उपचार खर्च व्यहोर्ने भएको छ। उहाँको शुक्रबारदेखि उपचार प्रकृया फेरि सुरु भएको छ।

शुक्रबार विकासको दायाँ खुट्टाको पहिलो शल्यक्रिया भएको छ। अब देब्रे खुट्टा र मेरुदण्डको शल्यक्रिया हुन बाँकी छ। दूतावासका प्रतिनिधिले आफूलाई पूर्णरुपमा निको बनाएर मात्रै नेपाल पठाउने बाचा गरेको भन्दै विकासले खुशी व्यक्त गर्नुभयो।

Loading...
प्रकाशित मिति २३ बैशाख २०७६, सोमबार १३:२०