‘पद, पैसा र परिवार मात्र सोच्ने प्रचण्डलाई देश सुम्पिन सकिन्न’

काठमाडौं। सरकारको नेतृत्वमा रहेका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताएका छन्। पार्टी केन्द्रीय कमिटिको बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासका लागि सरकारले गरेका प्रयासहरूमा आफ्नै दलका केही नेता बाधक बनेको आरोप लगाए।

आफूले पार्टीलाई एकजुट बनाउन निरन्तर प्रयास जारी राखे पनि कार्यकारी प्रचण्ड तथा उनले नेतृत्व गरेको वरिष्ठ नेता माधवकुमार नेपालसहितको असन्तुष्ट समूहका नेताहरूले नमानेको प्रधानमन्त्री ओलीको गुनासो थियो।

“मैले अस्तिको दिन प्रचण्डजीलाई भनेँ, हामीले मिलाउन सकेनौं। अब निर्वाचनले मिलाउँछ की ? निर्वाचनमा हामी एकजुट भएर जानुपर्‍यो भनेर भनेँ,” प्रधानमन्त्री ओलीले गुनासो पोख्दै भने, “तर उहाँहरू मान्नुभएन। उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ, कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ, मलाई थाहा छैन। तर उहाँहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन। अहिलेको आवस्यकताअनुसार उहाँहरू चलिरहनुभएको छैन। अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरू चलिरहनुभएको छैन।”

झण्डै दुई तिहाई नजिकको बहुमतका साथ संसदमा प्रतिनिधित्व गर्ने दलभित्रको आन्तरिक विवादका कारण आइतबार मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी वैशाखमा चुनाव गर्ने सिफारिस राष्ट्रपतिलाई गरेको थियो। राष्ट्रपतिव्राट मन्त्रिपरिषद्को सिफारिस सदर भएर वैशाखमा मध्यावधी चुनाव हुने पक्का भएपछि नेकपाको असन्तुष्ट पक्ष विरोधमा छ। यसैबीच आज प्रथम अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय कमिटिको बैठक बोलाएका थिए। त्यसको काउन्टर स्वरुप असन्तुष्ट पक्षले पनि असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूको भेला गरेको थियो।

औपचारिक रूपमा नेकपा अहिलेसम्म एक भए पनि असन्तुष्ट पक्षले प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाही गर्ने र उनको ठाउँमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिसकेको छ।

पार्टी एक भए पनि भावनात्मक रूपमा स्पष्ट दुई चिरा परेको अबस्थामा असन्तुष्ट पक्षको भेलाअघि प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि बैठकमा दिएको मन्तव्यको सम्पादित अंश उनकै शब्दमा

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दैछौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? मैले अस्तिको दिन प्रचण्डजीलाई भने- हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो । आपसी अन्तरविरोधहरु टुङ्ग्याउनुपर्‍यो । अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं । प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त ? प्रधानमन्त्री म चुनावबाट बनेको हुँ । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरू पार्टीहरु पनि सकेसम्म एकजुट हुँदैछन् । चुनावका लागि, चुनावको सामना गर्नका लागि ।

उहाँ (प्रचण्ड-माधव)हरू त मान्नुभएन । उहाँहरु बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ? कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर उहाँहरु यस धर्तीमा, यस धर्तीको भूमिमा, यस धर्तीको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन । अहिलेको आवश्यकताको जगमा उहाँहरु चलिरहनुभएको छैन । अहिले देश र जनताको चाहना परिपूर्ति गर्न उहाँहरु चलिरहनुभएको छैन ।

तपाईंहरुलाई थाहा छ, ममाथि हमला कतिकति खेर हुन्छ ? मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवमा भन्ने हो भने जब देशमा निरङ्कुश राजतन्त्र थियो, पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन सुरु गर्‍यौं, हमला भयो । मैले आफैं व्यक्तिगत तवरमा पनि झेल्नुपरेको छ भन्ने सुनाउनु छ ।

त्यसबेला हामीले आ”’क्रमण सहनुपर्‍यो, मैले जेलमा पनि बस्नुपर्‍यो । अरू साथीहरुले पनि बस्नुपर्‍यो । हामीमाथि हमला कतिबेला भयो भने जतिबेला हामीले जनताका लागि, देशका लागि एउटा निर्णायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं, त्यसबेला हमला भयो । त्यसपछिका दिनहरु पनि थुप्रै सम्झन्छु । तर पछिल्लो समयको मात्रै कुरा गरौं ।

म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी गर्‍यौं । संविधान जारी गरेबापत हमला भयो । नाकाबन्दी हामीमाथि लगाइयो । नाकाबन्दीविरुद्ध हामीले डटेर सामना गर्‍यौं । त्यसबेला आलोचना र विरोध हामीविरुद्ध केन्द्रित गरियो । देश बर्बाद भयो, नसक्ने ठाउँमा सिङ जुधाउन गयो । छिमेकीहरुसँग सम्बन्ध बिगार्‍यो…. हामीले सम्बन्ध बिगारेको थिएन । हामीले त नाकाबन्दी भोगिरहेका थियौं र त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं । तर, पनि हाम्रो राष्ट्रको सम्मान, सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने व्यक्ति थिए । हाम्रै पार्टीका शीर्ष नेताहरुले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठ्यारोमा पर्ने स्थिति भयो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभयो । हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु नै भएन । तीव्र भयो, हमला । चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धी भएपछि, चीनतिरका विभिन्न नाकाहरु खोलेपछि, विभिन्न बाटाहरु बनाएपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो ।

हाम्रा दुर्गम ठाउँहरु चीनसँग सिमाना जोडिएका छन् । त्यो दुर्गम ठाउँमा बाटा नबनाएर हामी देशको विकास कसरी गर्न सक्छौं ? त्यसकारण हामीले चीनसँग सम्बन्ध जोड्नैपर्थ्यो। बाटाहरूले जोड्नैपर्थ्यो, हवाई सुविधाले जोड्नैपर्थ्यो। हिमालपार कनेक्टिभिटी सम्बन्ध, आवागमन, त्यो हवाई, दूरसञ्चार या अरू रेलमार्ग, अरू विभिन्न माध्यमबाट खोलौंं । त्यसो भएपछि हाम्राविरुद्ध यति तीव्र हमला भयो कि त्यो सरकार ढलाइछोड्यो ।

म कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु- देशका त्यति दृढताका साथ, त्यति स्पष्ट दृष्टिकोणका साथ, केही हुँदैन क्यारे यो देशमा भन्ने ठाउँमा जनताका सपनाहरु, ओइलाएका सपनाहरु जगाएर, विकासको एउटा लहर चलाएर, राष्ट्रिय भावना जगाएर, राष्ट्रिय स्वाभिमानलाई माथि उठाएर, देशलाई एक लय र एक तालमा समृद्धिको बाटो अगाडि बढाउने त्यो सरकार, त्यति उपलब्धिका साथ अगाडि बढेको सरकार गिराउनेमा हाम्रै पार्टीका नेताहरु भएका र अविश्वासको प्रस्तावमाथि बोल्दा अविश्वासकै प्रस्तावको समर्थनमा पो बोले आफ्नै पार्टीका नेताहरुले । त्यो कुरा पनि मलाई सम्झना छ । हाम्रै सांसदहरूको शिर निहुरिएको थियो, त्यतिबेला । त्यो थाहा छ ।

अब, एउटा परिस्थिति अहिले फेरि यहाँ आयो। हाम्रो देशको सम्पूर्ण भू-भाग सामेल गरेर नक्सा छाप्यौं । हामीले अरूको भूभाग सामेल गरेको होइन, हाम्रै भू-भाग सामेल गरेर नक्सा छाप्यौं । त्यो नक्सालाई नक्सा मात्रै छापेर, त्यो कुनै पोस्टर होइन। हामीले छापेको राष्ट्रको सार्वभौम सत्ता र भूगोल हो । त्यो भूगोल नक्साबाट समेत बाहिर पारिएको थियो । सुगौली सन्धिपछि हामीले १४६ वर्षसम्म भोगचलन गरेको जमिन, ५८ वर्ष अगाडि कालापानीमा भारतीय फौज बस्यो र त्यसभन्दा उताको लिपुलेक र लिम्पियाधुरा (बाटामा फौज बसेर ब्लक गरिदिए पछि) उतैको जस्तो गरेर हट्यो ।

त्यसपछि यो संविधान संशोधन गरियो । सर्वसम्मतिले गरियो । संविधान बनाउँदा पनि सर्वसम्मत थिएन । कुनै पनि कुरामा, संविधानको मामलामा राष्ट्रिय सहमति अथवा राष्ट्रिय सर्वसम्मति अहिलेसम्म भएको थिएन । तर संविधानको प्रश्न र राष्ट्रलाई एक ठाउँमा उभ्याऔं । कतिको छातीमा ह्वार्ह्वारी आगो बल्यो । किन बलेको हो, थाहा छैन ।

एउटा समूह पृथकतावादी राजनीति लिएर हिँडिरहेको थियो । त्यस समूहलाई हामीले संविधानसम्मत राजनीतिक संवैधानिक, शान्तिपूर्ण राजनीतिको मूलधारमा, राष्ट्रिय एकताको मूलधारमा ल्याउन सफलता प्राप्त गर्‍यौं । त्यसबेला पनि विरोधको सामना गर्नुपर्‍यो । यो के षड्यन्त्र हो, त्यस्तालाई किन मञ्च दिइयो ? आदि इत्यादि । एउटा पृथकतावादी राजनीतिको अन्त्य गरेर राष्ट्रिय मूलधारको राजनीति अगाडि बढ्दैछ भने त्यसमा मन पोल्नुपर्ने कारण के ? कलेजो जल्नुपर्ने कारण के ? तर, केही मान्छेहरुको मन जल्यो । पृथकतावादको अन्त्य हुँदा रुवाबासी गरे केही मान्छेहरु ।

हामी देख्न सक्छौं, यसभित्र के होला ? हामी बुझ्न सक्छौं, यसभित्र के होला ? यतिबेला त्यसैकारण हाम्राविरुद्ध तीव्र हमला छ । हाम्रा एकजना पार्टीका वरिष्ठ नेताले टेलिभिजनमै भनेको सुनियो, भ्रम नरहोस्, म एकताको विरोधमा थिइनँ । यो एकता गरेपछि एकता गरेको समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ भनेर एकताको पक्षमा थिएँ म । एकताको एकदम पक्षमा थिएँ, किनभने त्यो समूहसँग मिलेर केपी ओलीलाई हटाउन सकिन्छ । अथवा एकता चाहिएको किन रहेछ ? कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन होइन ।

उहाँहरुले अहिले सफल भएको ठान्नुभएको छ । म सुन्दैछु केपी ओलीलाई निकाल्नुहुन्छ रे । उहाँहरुले भन्दा १० वर्ष अगाडि पार्टी सदस्यता मैले लिएको होला। एउटा आन्दोलन सुरु गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजामा थियो, त्यसअवस्थामा एकता एकीकरणको अभियान थालेर आएको मलाई आज … ताजुब के भने प्रचण्डले मलाई निकालिदिने रे पार्टीबाट । म साथीहरुलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरुमा अल्झिदैनौं ।

प्रचण्डले पार्टीबाट निकाल्छन् कि, कहाँकहाँबाट निकाल्छन् कि, घरबाट पनि निकाल्छन् कि त्यो उनको कुरा हो । हामी एउटा आन्दोलनमा छौं, हामीले हाम्रा महान उद्देश्यहरु तोकेका छौं । हामी समाजवादमा पुग्न चाहन्छौं । त्यसकारण अहिले समाजवादउन्मुख छौं । समाजवाद उन्मुख भनेको लोककल्याणकारी राज्यका अवधारणाअनुसार काम गर्दै सामाजिक न्याय र समानता, सुशासनको बाटोमा अगाडि बढेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने । हामी यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं । त्यस उद्देश्यका निम्ति हामीले एउटा सशक्त आन्दोलन निर्माण गर्नुपर्छ । त्यो आन्दोलन निर्माण, सञ्चालन र ठीक ढंगले अगाडि बढाउन हामीसँग एउटा सशक्त पार्टी चाहिन्छ । त्यो सशक्त पार्टी एकताबद्ध हुनुपर्छ, अघि मैले भनेको सही विचारहरु मार्क्सवादी दर्शन, मार्क्सवादी लेनिनवादी सिद्धान्त, दर्शन र हामीले लिएको गन्तव्यतर्फ अगाडि बढ्ने मार्गचित्र, त्यसका कार्यक्रम, योजनाका साथ अगाडि बढ्छौं । त्यस्तो गर्नका लागि हामीलाई सशक्त मजबुत, एकताबद्ध र गतिशील पार्टी चाहिन्छ । त्यस्तो पार्टी निर्माणको नयाँ चरणमा हामी प्रवेश गरेका छौं ।

कमरेडहरुलाई लाग्ला, केही साथीहरु त आएनन् । त्यस्तो हुन्छ आन्दोलनमा । हुँदोरहेछ । हामीले नचाहेको, भरसक सबै साथीहरुलाई अगाडि लिएर बढौं भन्ने सोचेको । तर, उहाँहरु प्रधानमन्त्री पनि वामपन्थी देख्नै नसक्ने । उहाँहरुको राजनीतिक दृष्टिकोण छैन । वर्गीय दृष्टिकोण छैन । आन्दोलनको दृष्टिकोण छैन । आफ्नो पद, आफ्नो लाभ, आफ्नो हित मात्र छ । अघिल्लोपटक मैले नेतृत्व गरेको सरकार ढलाउनु किन पर्‍यो ? उहाँहरुसँग जवाफ छ ? उहाँहरुसँग कुनै जवाफ हुन सक्दैन । अहिले आएर उहाँहरु भन्नुहुन्छ, अघिल्लो सरकार लोकप्रिय थियो । लोकप्रिय थियो भने ढालेको किन त ? उहाँहरु नै हो ढाल्ने । अलिपछि उहाँहरु भन्नुहुन्छ, अहिलेको सरकार लोकप्रिय छ, त्यतिबेलाको चाहिँ भएन ।

मैले चुनाव अगाडि भनेको थिएँ, अब वामपन्थीको अत्यधिक बहुमतको सरकार बनाउँछौं । त्यो हामीले गर्‍यौं । अब कमरेडहरुमा चिन्ता लाग्ला, त्यो चिन्ता नलिन म आग्रह गर्छु । पुराना पातहरु झर्ने, नयाँ पात पलाउने क्रम भइरहन्छ । हामीले नचाहँदा पनि हुन्छ ।

पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरु । हामीले चाहेर के गर्ने ? अहिले पनि चाहेका छौं । उहाँहरुले जस्तो कसैलाई निस्काशन गरेर कुदिरहेका छैनौं । उहाँहरु यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै बिग्रहको खेती गरिरहनुभएको छ । तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरु किनारा लाग्दै हुनुहुन्छ । त्रिशूलीमा तपाईंहरुले हेर्नुभएको होला, केही केही चिज नदीमा पर्‍यो भने त्यो बग्दै जाँदा किनारा किनारातिर लाग्छ । नदी बग्दै जाँदा फोहोरहरु किनारातिर धकेलिँदै जान्छ र सफा हुँदै अगाडि जान्छ ।

भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत सम्झिनुपर्‍यो जस्तो लाग्छ, ‘पिलो निचोरिँदैमा वजन घटेको हुन्न ।’ पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । वजन घटेको हुन्न ।

पार्टीमा तपाईंहरू कल्पना गर्न सक्नुहुन्छ, एकता गरेपछि कमिटीहरुले काम गर्न पाए ? तपाईंहरुले काम गर्न पाउनुभयो ? तपाईंहरुले गतिका साथ अगाडि बढ्न पाउनुभयो ? विभिन्न बाहनामा तपाईंहरुले खुट्टे लगाउने काम भयो । गाईगोरुलाई लगाइन्छ नि, त्यस्तै झुण्ड्याउने काम भयो । जनताका बीचमा स्पष्ट राजनीति लिएर जान नपाउने, संगठन एक ढिक्का भएर अगाडि बढ्न नपाउने गतिविधि भयो ।

हामीले एकीकरण गर्‍यौं । तीन महिनाभित्र एकीकरणको काम टुङ्ग्याउने निर्णय गरेका होइनौं ? त्यो तीन महिना कहिले आउँछ ? त्यतापटि्ट कहिल्यै ध्यान गएन । दुई वर्षभित्र महाधिवेशन गर्ने भनेका हौं । गएको जेठ ३ गतेभन्दा उतै महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो । सम्भवतः विधानको धारा १७ मा होला । तर महाधिवेशन गर्नेतर्फ कुनै सोच छैन । कुनै चिन्ता छैन । तयारी छैन ।

भुइँचालो जाँदा हामीले कार्यकर्ता परिचालन गर्ने । अरु पनि पार्टी हुँदा त्यसबेलाको सरकारले पनि केही पनि गर्न सकेन । तर हामीले हाम्रो कार्यकर्ता पङ्क्ति परिचालन गरेर आफैं एक कप चिया पनि खान नपाउने नियमका साथ बढो अनुशासित ढंगले एक महिनाको अभियान चलायौं । २७ हजार २ सय ७६ वटा अस्थायी टहरा बनाएर हामीले जनतालाई हस्तान्तरण गर्यौं । धेरै स्कुल भनौं न, लगभग १३ हजार विद्यालयहरु निर्माण गरेर हस्तान्तरण गर्यौं । २२ हजार हामीले भग्नावेशहरु सफा गर्ने काम गर्‍यौं । जनतालाई अप्ठ्यारो परेका बेला ती कामहरु पार्टीले गर्न सक्छ । त्यस्ता राहतको काम गर्न सक्छ । तर अहिले पार्टी यत्रो कोभिड १९ को बिगबिगी छ, पार्टी केही गर्न सक्दैन । केही गर्न सक्ने अवस्थामा, कार्यकर्ता परिचालन गर्न सक्ने अवस्थामा पार्टी छैन । विरोध मात्रै गर्न सक्ने जस्ता विभिन्न प्रचारवाजीमा । टेलिभिजनमा गयो सरकारको गाली गर्ने । पत्रपत्रिकामा गयो सरकारको गाली गर्ने । रेडियोमा अन्तर्वार्ता दियो सरकारको गाली गर्ने । यसैमा समय खर्च गरिरहेको छ ।

हामीले त्यसको जवाफ पनि दिन पाएनौं । किनकि, हामी अनुशासित छौं । हामीले एउटा अनुशासन, मर्यादा, सुसंस्कृति कायम गरेका छौं । त्यसकारण, अब केही पनि गर्न नसक्ने अवस्था आयो । पार्टी अगाडि बढ्न नसक्ने अवस्था आयो । पार्टी सधैँ रुमलिने अवस्था भयो ।

त्यसबाहेक, महाअभियोग लगाउने, अविश्वासको प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरू नेताहरु निकाल्ने, यो बाटोतिर पो खेती गरिराख्नुभएको छ । पार्टी एकता, एकीकरण टुंग्याउने, एकीकरणको बाटोबाट अघि बढ्ने होइन, बरु उहाँहरु भत्काउने । कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने । कुदेर राष्ट्रपति कहाँ पुग्ने । कुदेर सभामुखकहाँ पुग्ने । कुदेर कहाँ पुग्ने । यही प्रकारको खेती ।

त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनाभित्र अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं । हामीले चुनावमा पनि जानु छ यसपछि । अब हामी चुनावको तयारीमा जुट्छौं । चुनावमा जान्छौं ।

अर्को, हामी चुनावपछि अरू कामहरुलाई बढी व्यवस्थित गर्नु छ । चुनाव अगाडि हामीले कमिटीलाई व्यवस्थित गर्ने र विभागहरुलाई व्यवस्थित गर्नुपर्ने, मातहतका कमिटीहरुलाई पुनर्गठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कामहरु गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ । समानुपातिकमा यति ल्याउनु छ । त्यो ५० लाख भोट हामीले ल्याउनु छ । हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । ११६ सिटमा जितेका थियौं भने अहिले त्यसमा ४ सिट थप्नु पर्नेछ । १२० सिट पुग्नुपर्ने छ ।

हाम्रो अभियान कुन हिसाबले हामी सञ्चालन गर्न सक्छौं, हाम्रो सफलता त्यसमा निर्भर रहन्छ । हामी एउटा आँधी तुफानका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर लिएर जाँदैछौं । आँधी तुफानका रूपमा हाँकेर लिएर जाँदैछौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । हामी सही विचारको, सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं । हामी हाम्रो एकताको बलको, एकताबद्ध सक्रियताको तागत देखाउँछौं । हाम्रो व्यापक पार्टी पङ्क्तिको परिचालन, त्यसको तागत देखाउँछौं । हामी त्यसैगरी जनपरिचालन गर्छौं । त्यसको तागत हामी देखाउँछौं । देशभक्तिमा के तागत हुन्छ ? राष्ट्रवादमा के तागत हुन्छ ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? त्यो हामी देखाउँछौं । हाम्रो स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूलन गर्ने हाम्रा इमान्दार उद्देश्यहरुको तागत र सुशासन, शान्ति कायम गर्ने हाम्रा नीति र व्यवहारको तागत के हुन्छ, हामी देखाउँछौं ।

हामी राजनीतिमा इमान्दारिताको तागत देखाउँछौं । राजनीतिलाई तदनुसार सफल राजनीति, स्वच्छ राजनीति, इमानको राजनीति, देशभक्त राजनीति, लोकतान्त्रिक राजनीति, विधिको शासन भएको राजनीति, देश र जनताको हितमा केन्द्रित भएको राजनीति, यो राजनीति अगाडि बढाउँछौं र सफल हुन्छौं ।

यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ । त्यसर्थ मैले केन्द्रीय कमिटीमा केही साथीहरु थप गरेको छु । आन्दोलन टुक्राटुक्रामा विभाजित भएको अवस्थाबाट एकता, एकीकरण र पार्टी निर्माणको एउटा अभियान, आन्दोलन सञ्चालन गर्दै यहाँसम्म ल्याइपुर्‍याएको नेता, पार्टीको प्रथम अध्यक्ष र जनताले विश्वास गरेको प्रधानमन्त्रीको हैसियतमा । त्यो अध्यक्षको हैसियत हो, जसमाथि जनताले विश्वास गरेर अभिभारा सुम्पिएका छन् र त्यो अभिभारा असफल हुन दिनुभएको छैन । देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन नभएका, देश र जनताबारे कहिल्यै नसोच्ने, आफू, आफ्नो परिवार । खासगरी तीन पद, पैसा र परिवारबारे मात्र सोच्नेहरुको हातमा देश सुम्पिन सकिँदैन । त्यसकारण विघटनमा जानुपर्‍यो ।

अब यसपछिको परिस्थितिको हामीले कसरी सामना गर्ने ? उनीहरुले निहुँ त अगाडिदेखि खोजिरहेकै थिए, अब झन् उनीहरुले निहुँ बनाउँछन् । त्यो निहुँ बनाएर पार्टी विभाजन गर्न खोजिरहेका छन् र प्रयास गरिरहेका छन् । परामर्श पनि नगरेर अध्यक्षलाई निष्काशन गर्ने आदि इत्यादि गरिरहेका छन् । महाधिवेशन गर्नुपर्ने, गरिरहेका छैनन् । त्यतापटि्ट लागिराखेका छैनन् । त्यसैले आगामी अभिभाराहरू पूरा गर्न सक्ने गरी कमिटीलाई थपेर विस्तार, अर्को भाषामा भन्ने हो भने पुनर्गठन गरेर विस्तार हो यो । तपाई‌ंहरुले देखिहाल्नुभयो, केन्द्रीय कमिटीको बैठकमा सबैलाई बोलाइएको छ, केही आउँदैनन्, उतै बैठक बसेका छन् । यसखालको अराजक स्थितिमा आन्दोलन जोगाउनका लागि को कतापटि्ट बस्छ, छोडिदिऔं हामी । आन्दोलन जोगाउन मैले केन्द्रीय कमिटीमा सदस्य विस्तार गरेको छु ।

मैले बुँदामा टिपेर ल्याएको छु, कमडेरहरूलाई पनि काम लाग्छ । एउटा त अहिलेका कमिटीहरु निर्वाचित होइनन्, यी कमिटीहरु मनोनित हुन् । महाधिवेशनबाट निर्वाचित होइनन् । कुनै कमिटी पनि होइनन् । सबै मनोनित हुन् । यथार्थमा मौजुदा कमिटीहरु पनि यसै प्रक्रियाबाट, जसरी मैले हिजो साथीहरु थप गरेँ, त्यस उद्देश्यका लागि मैले ४४१ केन्द्रीय कमिटी, २ जना आमन्त्रित केन्द्रीय सदस्य र ४ जना पछि थपियो । ४४७ जना पहिले केन्द्रीय सदस्य र ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर १००३ जनाको केन्द्रीय कमिटी बनेको छ । १९६ जना खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ । यो कमिटी पछि हेरफेर हुन्छ

अहिले हामी विशेष परिस्थिति, विशेष अभिभारा र विशेष अभियानमा भएको हुनाले हामीले कमिटीलाई अलिकति ठूलो पनि बनाउनुपर्‍यो । एकथरी मान्छेहरू विभाजनका लागि उद्दत छन् । त्यस कुरालाई पनि ध्यानमा राख्नुपर्‍यो । विभाजित भएर छुट्टियो नै भने पनि आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्‍यो । तसर्थ ११९९ जनाको केन्द्रीय कमिटी हुनेछ । ४४७ पहिलेको र २०७७ पुस ६ गते मैले प्रथम अध्यक्षको हैसियतले आन्दोलनको बृहत्ततर हितलाई ध्यानमा राखेर मनोयन गरेका ५५६ जना गरेर यतिबेला १००३ जना मौजुद छौं । पहिला पनि कमिटीहरू यसरी नै बनिसकेपछि स्वअनुमोदन गरिएको हो । अहिलेसम्म भएका कमिटीहरू पनि संक्रमणकालीन कमिटी हुन् ।

अहिलेसम्मका रहेका कमिटीहरूका एकीकरणका काम पूरा गरेर दुई वर्षभित्र पार्टी एकताको महाधिवेशन सम्पन्न गर्ने भनेर तोकिएको थियो । त्यो कुरा विधानमा पनि उल्लेख छ । जुन अभिभारा पूरा गर्न पहिले रहेको केन्द्रीय कमिटीबाट सम्भव देखिएन । त्यो असथर्मतालाई समर्थ बनाउन त्यही कमिटीलाई गतिशील, एकताबद्ध, संगठित गरेर कुनै हिसाबले पनि सम्भव भएन । अध्यक्षको नाताले मेरो कर्तव्य हो, पार्टीलाई कुनै पनि हालतमा असफल हुन दिनु भएन । गतिहीन दिनुहुँदैन, आन्दोलनलाई सिद्धिन दिनुभएन । पार्टीलाई ध्वस्त हुन दिनुभएन । त्यसकारण मैले यो सदस्यहरू थपेको छु ।

भइरहेका कमिटीबाट एकीकरणका बाँकी काम पूरा गर्न र एकताको महाधिवेशन आयोजना गर्न पनि सम्भव छैन । यी कमिटीहरूको कार्यविधि सहमतिको बाटोबाट कार्यसम्पादन गर्ने भन्ने छ । तर यिनले कहिल्यै सहमतिको बाटो समातेनन् । समात्न सफल भएनन् । बरु झमेला सिर्जना गर्ने तत्वहरूको चंगुलमै कमिटीहरू फसिरहे । केही तत्वले समस्या सिर्जना गर्ने र त्यही समस्यामै कमिटीहरू रुमलिने भइरह्यो । त्यो समस्यालाई छिचोलेर अगाडि जान नसक्ने भयो । त्यो विवशताबाट कमिटीलाई मुक्त गर्नका लागि संख्या थप्नुपर्‍यो ।पार्टीले लिएका उद्देश्य, नीति, कार्यक्रम र कार्ययोजनाहरू पूरा गरी उपलब्धि हात पार्ने माध्यम र औजार हुन् । ती पार्टी र आन्दोलनका साधन हुन साध्य होइनन् । पार्टीका निर्धारित साध्य र अभिभाराहरू पूरा गर्न ती सक्षम छैनन् र असफल छन् भने तिनलाई सक्षम र सफल बनाउन ध्यान दिनुपर्दछ । त्यसका निम्ति ठोस उपलब्धिहरू अवलम्बन गर्नुपर्छ ।

मौजुदा कमिटीले पार्टी एकतालाई मजबुत बनाउँदै लैजानुपर्नेमा फुट, अनेकता र विभाजन तथा गुटगत क्रियाकलापलाई रोक्न सकेन । खराबी र क्षतितर्फका केही व्यक्तिको यात्रालाई पनि रोक्न सकेन । तिनका प्रयासलाई असफल बनाउन सक्नुपर्थ्यो कमिटीहरूले तर सकेनन् ।सहमतिका साथ एकीकरणका कार्य सम्पन्न गर्दै सहमतिका साथ नै एकताको महाधिवेशन गर्नुपर्नेमा त्यो बाटो नै नलिई गुटबन्दी, अस्वस्थता, अनुशासनहीनता र अराजकताको शिकार भएर र फुटको निम्ति औजार हुने वामपन्थी आन्दोलन र नेकपालाई नै गम्भीर नोक्सान पुर्‍याउन सक्ने, समाप्त पार्न सक्ने खतरा यी कारणहरूले पैदा भयो ।

आन्दोलन र पार्टी बचाउन एवं जनताका व्यापक हितहरूको रक्षा गर्न मौजुदा कमिटीहरू राष्ट्रिय राजनीति र पार्टीभित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्नसमेत असमर्थ रह्यो । तसर्थ यस्तो स्थितिमा राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न मौजुदा कमिटीहरूले पार्टीलाई वैचारिक एकतातर्फ बढाउनुपर्नेमा विभिन्न तत्वले फैलाएका अन्यौल, अस्पष्टता र भ्रमहरूलाई चिर्न विल्कुलै असफल रह्यो ।

पार्टीमा मान्यता, विधि, पद्दति, गोपनियता र अनुशासन जस्ता विषयहरू हिजोको इतिहास र आजका लागि अनावश्यक कुरा जस्ता हुन पुगे । जसले गर्दा पार्टी, पार्टीका रूपमा नरहेर एउटा असंगठित, अराजक र दिशाहीन जमातजस्तो हुने खतरा बढ्यो । त्यसलाई अविलम्ब रोक्नका लागि, पार्टीलाई विचारमा बाँधिएको, देश र जनताको हितमा समर्पित, उद्देश्ययुक्त, सही बाटो पहिल्याएको र त्यसमा यात्रारत गतिशील बनाउनुपर्नेमा विचारहीन, स्वार्थी र अलपत्र जमात बन्ने खतरा पैदा भयो ।

पार्टीले सरकारलाई नीतिगत निर्देशन एवं सहयोग र समर्थन गर्नुपर्नेमा एउटा सानो जमातको इर्ष्या, महत्वकांक्षा, अधैर्यता, कुण्ठा र अनुत्तरदायी प्रवृत्तिलाई रोक्न सकेन । बरु, त्यसैमा अनुकूलित हुँदै जाने र सरकारविरुद्ध त्यस्ता तत्वहरूबाट भ्रमात्मक ढंगले लगातार गरिएका अनुचित तथा झूटा प्रचार रोक्न सकेन । तिनको प्रतिवाद गर्न पनि सकेन । त्यसले कार्यकर्ता पङ्क्तिलाई पनि किंकर्तव्यविमूढ, निरीह र निराश बनाउँदै लगिरहेको अवस्थालाई अविलम्व रोक्न आवश्यक परेको छ ।

सरकारले गरेका राम्रा कामसमेतलाई भरसक ओझेलमा पार्ने, बङग्याई टिङ्ग्याई बिरूप पार्ने, विपक्षी र विरोधीलाई समेत उछिनेर झूटा कुरालाई उचाल्ने र सरकारलाई बदनाम गर्ने कार्य संगठित र योजनाबद्ध ढंगले भइरहेकोमा तिनलाई तत्काल रोक्नुपर्ने र मौजुदा कमिटी ती काम गर्न असमर्थन रह्यो । त्यसले कार्यकर्ता पङ्क्तिलाई पनि निरीह र निराश बनाइरहेको अवस्थामा त्यसलाई रोक्नु आवश्यक छ । पार्टी नेतृत्वको लगातार अनुचित र निराधार विरोध भइरहने, अनेकौं झूटा, निराधार र घिनलाग्दा आरोपहरुसहित नेतृत्वलाई खुइल्याउने र विस्थापित गर्ने प्रयासहरु भइरहँदा त्यस प्रकारका पार्टीलाई नोक्सान पुर्‍याउने र विपक्षीलाई फाइदा पुर्‍याउनेखालका कामलाई मौजुदा कमिटीले रोक्न सकेन ।

विभिन्न समयमा चर्काे माग उठ्दाउठ्दै पनि कमिटी निर्माणमा सन्तुलनको पक्षलाई ध्यान नदिएको र ध्यान दिन मानिएन । यसमा सकारात्मक ढंगले क्रमशः सुधार गर्दै जानुपर्ने र त्यसमा विलम्ब गर्नु उचित नहुने भएकाले पार्टी र पार्टी मातहतका संरचनाहरु पार्टीले लिएका उद्देश्य, नीति र कार्यक्रम एवं कार्ययोजनाहरु कार्यान्वयन गरी उपलब्धि हात पार्ने माध्यम र औजारहरु, ती पार्टी र आन्दोलनका साधनहरु एवं विभिन्न अप्ठ्यारो मोड पार गर्दै पार्टीलाई यहाँसम्म ल्याइपुर्‍याउन नेतृत्व गर्ने नेताहरु, पार्टीको प्रथम अध्यक्षको हैसियतले पार्टीको मौजुदा कमिटीमा आवश्यक संख्या थपी यसलाई सुदृढ, सन्तुलित र गतिशील बनाउनुपर्ने आवश्यकतादेखि मौजुदा केन्द्रीय कमिटीमा कमरेडहरुलाई समावेश गरी हालको संख्यामा ५५६ जना थपी एक हजार ३ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरेको छु ।

अथवा, जम्मा संख्या ११९९ जसमध्ये एक हजार ३ को संख्या पुगेको छ । यस प्रस्तावलाई म निर्णयका लागि बैठकमा पेश गर्छु ।

(प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा व्यक्त विचारको सम्पादित अंश)

Loading...
प्रकाशित मिति December 23, 2020