यस्ता बाबु–आमा जसले ‘छोराको नाम मेस्सी राख्न पाऊँ’ भन्दै सरकारविरुद्ध मुद्दा हाले !

एजेन्सी, माघ २५
संसारका ‘आइकोनिक’ फुटबल खेलाडीप्रतिको ‘क्रेज’ फ्यानहरूमा कतिसम्म हुन्छ भन्ने कुरा एक घटनाले देखाएको छ । यो चर्चित फुटबलर स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीको देशको खबर हो । र, यो सत्य खबर हो ।

अर्जेन्टिनामा एक दम्पतीले नवजात आफ्नो छोराको नाम मेस्सी राख्न सरकारबाट अनुमति पाएका छन् । त्यो पनि सजिल हैन, मुद्दा लडेर । थरलाई नाम बनाउन नपाइने अर्जेन्टिनाको ४५ वर्ष पुरानो कानुन तोडेर त्यहाँको सरकारले एक नवजात शिशुको नाम नै ‘मेस्सी’ राख्न अनुमति दिएको हो ।

स्मरण रहोस्, बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका ३१ वर्षीय लिओनल मेस्सीको थर मेस्सी हो । उनको थर अगाडिको नाम लिओनल हो । उनी लिओ मेस्सीका नामले पनि चिनिन्छन् ।

अर्जेन्टिनामा आफ्नो नवजात शिशुको नाम चर्चित खेलाडीको नामबाट राख्ने आमाबाबुको इच्छाअनुसार एक दम्पतीले सरकारसँग मुद्दै लडेका हुन् । त्यहाँका डानियल बारेलाले आफ्नो छोराको नाम फुटबलर मेस्सीसँग मिल्ने गरी राख्न सरकारसँगै लड्नु परेको थियो । उनले मेस्सीको थरलाई आफ्नो छोराका सुरुको नाम बनाउन चाहेका थिए ।

तर, अर्जेन्टिनाको कानुनमा थरलाई नाम बनाउन पाइँदैन । यसलाई कानुनबिपरीत मानिन्छ । सन् १९६९ को कानुनले थरलाई नाम बनाउन नपाउने कानुनमै व्यवस्था गरेअनुसार बारेला भने समस्यामा परेका थिए ।

तर, त्यसपछि आफ्नो छोराको नाम मेस्सी राख्न पाऊँ भन्दै डानियलले स्थानीय नगर सरकारँग माग गरे । उनले छोराको नाम आफूखुसी राख्न पाऊँ भन्दै निवेदन दिएका थिए । तर, नगरका अधिकारीले थरलाई बदलेर नाम बनाउन नमिल्ने बताए ।

तर, पछि बारेलाले आफ्नो छोराको नाम मेस्सी राख्न चाहनुका करणसहित सरकारी दस्तुर तिरेर मागपत्र दर्ता गराए । नभन्दै उनी सफल बने । उनको निवेदनमाथि सरकारले फैसला गर्दै छोराको नाम मेस्सी राख्न अनुमति दियो ।

छोरा जन्मेको १५औं दिनमा मन परेको नामबाट न्वारान गराउन पाएपछि डानियल निकै खुसी भए । उनकी ५ वर्षीया छोरीसमेत छन् ।

Loading...
प्रकाशित मिति २५ माघ २०७५, शुक्रबार १०:२१