बाढी पिडितलाई घर बनाईदिने याेजनामा अञ्जु पन्त

काठमाडौं ।अञ्जु पन्तको सुमधुर स्वर सुनेर धेरै दर्शक एवं स्रोता भावुक भएका छन्, कतिपय रोमान्टिक गीत सुनेर रोमाञ्चित पनि भए होलान् । नेपाली सांगीतिक क्षेत्रमा गायिका पन्तको आफ्नै किसिमको विशिष्ट स्थान छ । अब्बल गायिकाको परिचय कायम राखेकी छिन् ।सांगीतिक क्षेत्रमा अब्बलता कायम गरेकी यी गायिका समाजसेवी पनि हुन् । विभिन्न समारोहमा उनले आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई पाठ्यसामग्री वितरण गर्दै आएकी छिन् । पाठ्यसामग्रीको अतिरिक्त जाडो याममा लगाउने लत्ता कपडा समेत वितरण गर्दै आएकी पन्त अब भने असहायहरुका लागि घर बनाउने अभियानमा जुटेकी छिन् ।

गएको जाडो महिनामा असहायहरुका लागि ब्ल्याङ्केट बाँड्न भन्दै उनी पर्सा जिल्ला पुगेकी थिईन् । त्यहि क्रममा उनलाई स्थानियहरुले भने ‘तपाई एकपटक सुगौली जानुस् ।’स्थानियको आग्रह मान्दै पर्साको सुगौली पुगिन् । लगभग ३५ परिवारको स्थिती नाजुक देखिन् ‘दुई वर्ष अघि बाढीले घर बगाएपछि अस्थायी टहरो बनाएर बस्नु भएको रहेछ । निकै दारुण अवस्था देखेपछि माया लागेर आयो ।’ राजधानीसँग कुरा गर्दै अञ्जुले भनिन् । आर्थिक रुपमा कमजोर स्थानियहरुले बाँसको भित्तीमा माटोले लिपेर छाना हालेका थिए । सुत्ने ओछ्यान, पकाउने भाँडा केही पनि गतिलो थिएन ।

स्थानियहरुसँगको छलफलपछि उनले आशय बुझिन् । एउटा घरको आवश्यकता । स्थानियहरुसँगै छलफल गरिन् । कम्तिमा कतिपैसामा बन्छ एउटा घर । दुई वर्षअघिको हिसाब सम्झँदै भनिन् ‘एउटा घर बनाउदा कम्तिमा साँढे पाँच लाख खर्च हुन्छ ।’ तर, अहिले निर्माण सामग्री लगायत धेरै कुरामा महंगी बढेकाले त्यहि रकममा घर सम्भव छैन् । तैपनि उनको योजना जारी छ । ‘अहिले हामी कागजी प्रोसेस्मा छौं । बस्ति निर्माणका लागि प्रशासनको अनुमतिदेखि नाप नक्साको काम गर्दै छौं ।’

यो अभियान सकेसम्म चाँडै सम्पन्न गर्ने योजनामा रहेकी अञ्जु आग्रहको भाषामा भन्छिन् ‘असहायहरुले सहयोग गर्ने मेरो अभियानमा साथ दिनु होला ।’ केही अघि स्टेज शोका लागि अमेरिका पुगेकी अञ्जुले सोही कार्यक्रमवाट केही पैसा जम्मा गरेकी छिन् । तर, आफुसंग भएको पैसाले घर निर्माण सम्भव छैन ।अञ्जु पन्त फाउण्डेशनको सहयोगमा पाठ्यसामग्री वितरण गर्दै आएकी यी गायिका भन्छिन् ‘अब म असहायहरुले प्रत्यक्ष अनुभुत गर्ने खालको अभियान सुरु गर्न चाहन्छु ।’घर निर्माणले एउटा महत्वपूर्ण आवश्यकता पूरा हुने महसुस् गरेकी अञ्जुको योजना छ । घर निर्माणसंगै स्थानियलाई रोजगारीको पनि व्यवस्था गर्ने । उनलाई स्वदेश एवं विदेशमा बस्ने जो सुकैले पनि सहयोग गर्न सक्ने छन् । त्यसका लागि फाउण्डेशन वा उनी स्वयंलाई भेटन सकिने जानकारी दिइन् ।

खाजाको पैसा बचाउथिन

समाजसेवा प्रति उनको सोच निकै पुरानो हो । जतिवेला उनको आम्दानी केही थिएन । त्यति वेला पनि उनी पैसा बचत गर्थिन् । गायिका पन्तका अनुसार आमाले स्कुलमा खाजा खान दिएको पैसा हरेक दिन जम्मा गर्थिन् र पाँचसय पुगेपछि आमालाई नै फिर्ता दिन्थिन् । छाेरीमा पनि त्यही गुण भएकाे उनले बताइन् । त्यो पैसा कहिले बृद्धाआश्रम त कहिले कता खर्च गर्थिन् । गायिका पन्त भन्छिन् ‘अहिले पनि हामी आमा छोरीको गाँस कटाएर असहायहरुको सेवा गर्ने अभियानमा छौं ।’सामाजिक सञ्जाल फेशबुकमा अञ्जु पन्तका नाममा धेरै आइडी छन् । कतिपय प्रसंसकले फेक आइडीमा कुरा गरेको सुन्दा उनलाई नमज्जा लाग्छ । उनी भन्छिन् ‘फेशबुकमा फेशबुकले भेरीफाई गरेको मात्रै मेरो आईडी हो अरु नक्कली ।’युट्युबमा अञ्जु पन्तलाई पछ्याउने दर्शक स्रोताले अञ्जु पन्त तिमीलाई टाइप गर्नुपर्छ त्यसपछि मात्रै उनको आधिकारिक च्यानलमा पुगिन्छ

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार १८:४६