गिरिजा बाबू जस्तो रास्ट्रबादी नेता नेपालमा छैन। – सुबाश नेवाङ्ग

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस। नेपालको राजनीतिक आन्दोलनमा कोइरालाको भूमिका निर्णायक महत्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा ऋषि धमलाले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेका छन। कुराकानीका क्रममा अब देशमा के परिवर्तन हुन्छ? एमाले र माओवादीबिच पार्टी एकता प्रक्रिया के भइरहेको छ ? लगायतका समसामयिक विषय पनि उठान गरिएको छ ।

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई कसरी चिन्नुहुन्छ ?
गिरिजाप्रसाद कोइराला निरङ्कुशताविरोधी आन्दोलनका शीर्ष नेता हुन् । देशमा लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्नका लागि संघर्ष गरेका, नेपालमा गणतन्त्र स्थापित गर्नका लागि निरन्तर क्रियाशिल नेताका रुपमा म उहाँलाई स्मरण गर्छु । ६२–६३ को आन्दोलनका शीर्ष नेता पनि गिरिजा नै हुन् । कतिपय अवस्थामा उहाँहरुप्रति भ्रम पनि थिए । तर आन्दोलनका बेला उहाँसँग मैले नजिक हुने मौका पाएँ । उहाँ वास्तवमै देशलाई माया गर्ने नेता हुनुहुन्थ्यो । एक शब्दमा भन्छु, यो देशमा गणतन्त्र स्थापना गर्नका लागि उहाँको भूमिका निर्णायक थियो । हामी कम्युनिष्टहरुले मात्रै गणतन्त्र स्थापना गर्न सक्दैनथ्यौँ ।

उहाँलाई तपाई कसरी सम्झिनुहुन्छ ?
देशले धेरै ठूलो संघर्ष गर्यो । ६२–६३ को आन्दोलन मलाई झलझली आउँछ । गिरिजाप्रसाद कोइरालासँग म सँगसँगै उत्रिने संयोग र सौभाग्य मलाई मिल्यो । अन्तत अहिले हामीले शान्त्रि प्रक्रियालाई झण्डै झण्डै टुङ्गोमा पुर्याएका छौँ । केही मिहिनेतका साथ संविधान निर्माण गरेर कार्यान्वयन पनि भइसक्यो । आन्दोलनपश्चात संविधान सभाको नेतृत्व गर्ने अवसर मैले पाएँ । सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छु ।

देश आर्थिक समृद्धिको यात्रामा लैजाने भनिएको छ । राजनीतिक क्रान्ति सकिएकै हो त ?
विगतमा हामीमाथि एउटा आरोप नै थियो, यिनीहरु आन्दोलन गर्न जान्दछन्, तर आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने ढंग छैन । यथार्थमा विगतमा हामी कतिपय कुरामा असफल पनि भएका थियौँ । तर अहिले सफल भएका छौँ । आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरेका छौँ । जनताका अधिकार संस्थागत बनाउने आन्दोलन सकियो । अब देशलाई समृद्धितर्फ अभियानमा अगाडि बढेका छौँ ।

नेपालमा अब आर्थिक क्रान्ति सुरु हुन सक्ने आधार तयार भएको हो ?
निश्चय पनि, आर्थिक क्रान्तिको आधार तयार भएको छ । त्यो आधारमा उभिएर देशलाई समृद्धिको यात्रामा लैजानुपर्छ ।

मधेशवादी दलले अझै पनि मधेशी जनताको अधिकार सुनिश्चित नभएको दाबी गर्दै आएका छन्। यसलाई कसरी लिनुहुन्छ ?
जहाँसम्म संविधान संशोधन गर्नुपर्छ भन्ने एजेण्डा छ, संविधान संशोधन देशका लागि आवश्यक छ भनेर त संविधानमै लेखिएको छ । संविधान संशोधनका विषयमा संविधान नै लचिलो छ । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ । अब यो देशमा कसैले पनि हतियार उठाउन पर्दैन । हतियार नउठाइकन नै चाहेअनुसारको व्यवस्था स्थापित गर्न सकिन्छ । जनताको मन जित्न सकियो भने संविधान संशोधन गर्न कुनै समस्या छैन । जनताले चाहेअनुसारको संविधान संशोधन हुन सक्छ ।

अहिले पनि संविधानमा सबै जनताको अपनत्व भएको छैन भन्ने गुनासो छ नि ?
अझै पनि यो कोणबाट प्रश्न उठाउनु हुँदैन । पछिल्लो समय त सबै राजनीतिक दल र जनताले संविधानलाई स्विकार गरेका छन् । चुनाव बहिष्कार गर्ने साथीहरु पनि चुनावमा सहभागि हुनुभयो । प्रदेश नम्बर दुईमा त मधेशवादी दलले चुनाव जितेर सरकार नै बनाइसक्नुभयो । अब संविधान नमान्ने को छ ? अझै खुशीको कुरा के छ भने प्रतिनिधीसभाका सदस्यहरुलाई जेष्ठ सदस्यको रुपमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सपथ खुवाउनुभयो । किनभने कुनै बेला उहाँहरुले नै संविधान बहिष्कार गर्नुभएको थियो । अब भन्नुस्, जनताले जनताका लागि बनाएको संविधानप्रति असन्तुष्टी कसमा छ ? सबैले संविधान स्विकार गरे । अब आर्थिक विकासको कुरा गरौँ ।

उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म सरकारमा सहभागि नहुने बताइरहनुभएको छ नि ?
त्यो त आ–आफ्नो धारणा हो । संविधान संशोधन गर्नै हुँदैन भन्ने होइन । आवश्यकता र औचित्य भए संशोधन हुन्छ । देश र जनताका लागि यसरी काम गरौँ भनेर कुरा राख्नु भनेको आश्चर्यको कुरा होइन ।

नेपालमा दोस्रोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बनेको छ । अब देशमा के परिवर्तन हुन्छ ?
अहिलेको सरकारका लागि अवसर र चुनौति दुवै छ । हामीले चुनावका बेला जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने बेला आएको छ । जनताले विकास चाहेका छन् । त्यो चाहना पूरा गर्न सकिएन भने हिजोको दिनमा सत्तामा बस्दा जनअपेक्षा पूरा नगर्दा ति दलले जे सजायँ पाए भोलीका दिनमा हामीले पनि त्यसरी नै दण्डित हुनुपर्छ । त्यसैले हामीले गरेको प्रतिवद्धता पूरा गर्नुको विकल्प छैन ।

नेकपा एमाले र माओवादी केन्द्रबिचको पार्टी एकताको मिति तय भएको हो ?
जतिसक्दो चाँडो पार्टी एकता गर्नुपर्छ भन्ने सहमति छ । त्यसैअनुसार पार्टी एकताका लागि बनेका कार्यदलले धमाधम काम गरिरहेको छ । कार्यदलको प्रतिवेदन तयार हुनासाथ पार्टी एकता गछौँ । विभिन्न नेताहरुले मिति नै तोक्नुभएको छ । यो सकारात्मक कुरा हो ।

पछिल्लो समय न्यायापालिका विवादमा छ । यसलाई कसरी लिनुभएको छ ?
यो लाज लाग्ने विषय हो । यसलाई परिवर्तन गर्नुपर्छ । हामी सबै मिलेर यस्ता गलत प्रवृत्ति सच्याउनेतिर लाग्नुपर्छ ।

Loading...
प्रकाशित मिति २५ बैशाख २०७६, बुधबार २३:५०