छिमेकी राष्ट्र चीनले यस्तो बनाइदियो तातोपानी नाका / भिडियो

छिमेकी राष्ट्र चीनले यस्तो बनाइदियो तातोपानी नाका ! नाकामा चहल-पहल सुरु

सिन्धुपाल्चोक भूकम्प र भोटेकोशीको बाढीपछि तहस – नहस भएको नेपाल – चीन सीमा नाका तातोपानी क्षेत्रको लार्चा नजिकै पक्की मोटरेबल पुल निर्माण भएको छ। पुल तर्ना साथ एउटा विशाल र भव्य भवन देखिन्छ । भवनभित्र छिर्दैगर्दा कुनै विकसित देशको सपिङ सेन्टरभन्दा कुनै हिसाबले कमी देखिँदैन। भवनभित्र सुन्दर बगैंचा, पानीको फोहोरा, पार्किङलगायत सबै सबै सुविधासम्पन्न छ।

भोटेकोशी नदी माथि निर्माण भएको १ सय ६० मिटर लम्बाइको पक्की ट्रष्ट पुलमा इन्जिनियरिङ रुपमा असाध्यै राम्रो डिजाइन गरिएको छ। ०७० पुस ५ गते सुख्खा बन्दर गाहाको निर्माण सुरु गरिएको थियो । निर्माण सुरु भएको ३० महिनाभित्र काम सक्ने तयारी भए पनि भूकम्प र भोटेकोशी बाढीले निर्माण कार्य रोकिएको थियो । चीन सरकारले तातोपानी नाका खोल्न चासो दिएपछि रोकिएको बन्दरगाह निर्माण पुनः सुचारु भएको थियो।

चीन सरकारले केही दिनमा नै सुख्खा बन्दरगाहा नेपाललाई हस्तान्तरण गर्ने र अब तातोपानीको भन्सारसम्बन्धी सबैकाम यहीँबाट हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिए। नेपाल चीन सीमाक्षेत्र र हालको भन्सार कार्यालय रहेको भन्दा ६ किलोमिटर तल निर्माण सम्पन्न भएको सुख्खाबन्दरगाह अन्तराष्ट्रिय स्तरको छ। ४.२ हेक्टर क्षेत्रफलमा निर्माण भएको बन्दरगाहमा १५८ ठूला कन्टेनर र २३ वटाभन्दा बढी कार अट्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक एवं उद्योग तथा वाणिज्य मन्त्रालय का प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सुख्खा बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइन लगायतका कार्यालयहरु पनि निर्माण भएका छन् । बन्दरगाहमा भण्डारण क्षेत्र कार्गाे र गोदामसमेत आधुनिक शैलीमा निर्माण गरिएको ढकालले जानकारी दिए । ‘भन्सार यार्डमै ६० देखि एक सय मेटि्रक टनसम्म तौल गर्न सक्ने मेसिन समेत जडान गरिएको छ । बन्दरगाहमा भन्सार कार्यालय, जाँचपाँच यार्ड, चेक पोष्ट, बैंक, क्वारेन्टाइन, लगायतका संरचनाहरु निर्माण भएका छन् ।

कर्मचारीहरुका लागि आवास समेत बन्दरगाहभित्रै निर्माण गरिएको बस्नेतले जानकारी दिए । बन्दरगाहभित्र ६० देखि सय मेटि्रक टन क्षमताका ट्रकहरु एकै पटक तौलिन सक्ने मेशिन समेत राखिएको उनले जानकारी दिए । एकै पटकमा साना-ठूला गरी १५० बढी कन्टेनरहरु चेक गर्न सक्ने बन्दरगाहको क्षमता छ ।

नेपालमा हालसम्म ५ वटा सुख्खा बन्दरगाह छन् । सबै भारतीय नाका क्षेत्रमा भएपनि चीनसँग सीमा जोडिएको क्षेत्रमा भने यो पहिलो सुख्खा बन्दरगाह हो । अन्य बन्दरगाहको तुलनामा यो निकै सुविधा सम्पन्न र आर्कषक रहेको नाका सम्वद्ध व्यापारी प्रदीप पौडेल ले जानकारी दिए । चिनियाँ पक्षले आगामी जेठ ६ गते सुख्खा बन्दरगाह नेपाललाई हस्तान्तरण गर्नै तयारी गरेको छ ।

नाकामा चहल-पहल सुरु : भूकम्पपछि बन्द रहेको नेपाल-चीनवीचको प्रमुख व्यापारिक नाका तातो पानी भन्सार सञ्चालन हुने दिन नजिकिँदै गर्दा सीमा क्षेत्रमा विस्तारै चहल- पहल सुरु भएको छ । भूकम्प पछि खण्डहरु बनेको यस क्षेत्रको भौतिक संरचना विस्तारै पहिलाको भन्दा राम्रोसँग निर्माण भएको छ । भूकम्प लगत्तै तातोपानी भन्सारबाट हिँडेका भन्सारका कर्मचारीहरु र्फकन थालेका छन् ।

राजधानीबाट नजिकै रहेको भन्सार भएकाले पनि विगतमा यहाँ आउनका लागि कर्मचारीहरु निकै मेहनत गर्थे। दुई अधिकृतसहित १ सय बढी कर्मचारीहरु यसअघि कार्यरत भए पनि भूकम्प लगत्तै सबै कर्मचारी भागेका थिए। नाका सञ्चालन हुनै लाग्दा भन्सार विभा गले कर्मचारीहरु पठाउन सुरु गरेको छ । सुरुमा एकजना नासुसहित बढीमा ८ जना कर्मचारी पठाउन लागिएको तातोपानी भन्सारका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

Loading...
प्रकाशित मिति ३० बैशाख २०७६, सोमबार ०४:३०